ब्युटी न्युज नेपाल
काठमाडौँ, १६ असोज
चलचित्र विकास बोर्डले देशको वर्तमान विषम परिस्थितिलाई मध्यनजर गर्दै दोस्रो राष्ट्रिय चलचित्र दिवस यस वर्ष विभिन्न औपचारिक कार्यक्रम नगरी सौम्य रूपमा मनाएको छ।
राष्ट्रिय चलचित्र दिवसका अवसरमा सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाली चलचित्र क्षेत्रसँग सम्बन्धित सम्पूर्ण चलचित्रकर्मी, संघ–संस्था तथा सरोकारवालालाई शुभकामना व्यक्त गर्नुभएको छ। शुभकामना सन्देशमार्फत मन्त्री तिमिल्सिनाले नेपाली चलचित्र क्षेत्रको विकास, प्रवर्द्धन तथा व्यवस्थापनका लागि आवश्यक नीतिगत र कानुनी सुधारलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभएको छ।
उहाँले चलचित्र क्षेत्रको दीर्घकालीन विकास, चलचित्रकर्मीको पेसागत हित तथा यस क्षेत्रसँग सम्बन्धित अन्य सरोकारका विषयमा आवश्यक व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभएको छ।
यसै अवसरमा चलचित्र विकास बोर्डका कार्यवाहक अध्यक्ष रविलाल शर्माले पनि सम्पूर्ण चलचित्रकर्मी, चलचित्रसम्बन्धी संघ–संस्था तथा सरोकारवालालाई राष्ट्रिय चलचित्र दिवसको शुभकामना दिनुभएको छ।
अध्यक्ष शर्माले देशको वर्तमान अवस्थालाई ध्यानमा राख्दै राष्ट्रिय चलचित्र दिवसलाई सौम्य रूपमा मनाउन तथा विपद्बाट प्रभावित व्यक्ति र परिवारका लागि सरकारले सुरु गरेको राहत तथा पुनःस्थापनाको अभियानमा सक्दो सहयोग गर्न चलचित्र क्षेत्रसँग सम्बन्धित सबैमा अपिल गर्नुभएको छ।
उहाँले नेपाली चलचित्र क्षेत्रको चौतर्फी विकास, चलचित्रकर्मीको हकहित संरक्षण तथा नेपाली सिनेमालाई विश्व बजारमा प्रतिस्पर्धी बनाउन बोर्ड नीतिगत सुधार र रचनात्मक कार्यमा निरन्तर प्रतिबद्ध रहेको बताउनुभयो। साथै, चुनौतीपूर्ण परिस्थितिका बीच नेपाली चलचित्र क्षेत्रको बलियो जग निर्माणमा योगदान पुर्याउने अग्रज चलचित्रकर्मीप्रति कृतज्ञता व्यक्त गर्नुभयो।
राष्ट्रिय चलचित्र दिवसका अवसरमा बोर्डले विभिन्न सञ्चारमाध्यममार्फत दिवससम्बन्धी सन्देशसमेत प्रवाह गरेको छ। नेपाली चलचित्रको प्रवर्द्धन तथा राष्ट्रिय चलचित्र दिवसलाई सार्थक बनाउने उद्देश्यले देशभरका चलचित्र भवनमा राष्ट्रिय चलचित्र दिवससम्बन्धी ब्यानर राख्न र नेपाली चलचित्र प्रदर्शनमा विशेष सहुलियत प्रदान गर्न पनि बोर्डले अनुरोध गरेको छ।
यसै अवसरमा तत्कालीन शाही नेपाल चलचित्र संस्थानबाट निर्मित पहिलो नेपाली कथानक चलचित्र ‘आमा’ लाई बोर्डले डिजिटाइजेसन गरी सुरक्षित राखेको सामग्रीमध्येबाट आफ्नो आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरेको छ।






