ब्युटी न्युज नेपाल
काठमाडौँ, १६ असोज
इन्टेरियर डिजाइनमा अध्ययनरत विद्यार्थीको सिर्जनशीलता, सीप र व्यावसायिक क्षमतालाई प्रस्तुत गर्ने उद्देश्यले आईआईएफटी स्कुल अफ फेसन एण्ड इन्टेरियर डिजाइनले ‘स्पेस एण्ड डिजाइन एक्स्पो सिजन ६ र ७’ आयोजना गर्ने भएको छ।
काठमाडौँको कमलपोखरीस्थित सिटी सेन्टरमा असोज १७ र १८ गते दुईदिने एक्स्पो आयोजना हुन लागेको हो। एक्स्पोमा आईआईएफटीका इन्टेरियर डिजाइनिङका १०१ जना विद्यार्थी सहभागी हुनेछन्। विद्यार्थीहरूले अध्ययन तथा प्रशिक्षणका क्रममा तयार पारेका विभिन्न सिर्जनात्मक अवधारणा, व्यावहारिक डिजाइन तथा इन्टेरियरसम्बन्धी नमुना प्रदर्शनीमा राख्नेछन्।
एक्स्पोमा विद्यार्थीबीच उत्कृष्ट डिजाइनका लागि प्रतियोगितासमेत हुनेछ। विभिन्न विधामा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कार तथा नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ। विद्यार्थीको सिर्जनशीलता र व्यावहारिक दक्षतालाई प्रोत्साहन गर्दै उनीहरूलाई व्यावसायिक क्षेत्रसँग जोड्ने उद्देश्यले एक्स्पो आयोजना गरिएको हो।
एक्स्पो बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुनेछ। सोही अवसरमा असोज १८ गते दिउँसो ४ बजे भव्य दीक्षान्त समारोहसमेत आयोजना गरिनेछ।
आयोजकका अनुसार एक्स्पो विद्यार्थीका शैक्षिक उपलब्धि प्रदर्शन गर्ने अवसर मात्र नभई इन्टेरियर डिजाइन, निर्माण, होटल तथा रेस्टुरेन्ट, क्याफे, रियल इस्टेट र उद्यमशीलतासँग सम्बन्धित व्यवसायी तथा पेशेवरका लागि नयाँ प्रतिभा र सिर्जना अवलोकन गर्ने महत्वपूर्ण मञ्च हुनेछ।
विशेषगरी नयाँ क्याफे, रेस्टुरेन्ट, होटल, कार्यालय तथा अन्य व्यावसायिक संरचना निर्माण वा पुनःडिजाइन गर्ने योजना बनाइरहेका व्यवसायीका लागि एक्स्पो उपयोगी हुने आयोजकको भनाइ छ। त्यसैले इन्टेरियर डिजाइन व्यवसायी, निर्माण क्षेत्रका पेशेवर, उद्यमी तथा सम्बन्धित क्षेत्रका व्यक्तिलाई एक्स्पो अवलोकनका लागि आमन्त्रण गरिएको छ।
कार्यक्रमलाई पावर्ड बाई प्रायोजकका रूपमा ल्यामिनार भिट्रिफाइड टायल्स र शेर्पा ग्रुप, पेन्ट पार्टनरका रूपमा बर्जर पेन्ट्स तथा एसोसिएट पार्टनरका रूपमा प्यासन टिस्यु र जेरोना डर्माको सहकार्य रहेको छ।
आईआईएफटी स्कुल अफ फेसन एण्ड इन्टेरियर डिजाइनले विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक र सिर्जनात्मक सीप प्रदान गर्दै व्यावसायिक क्षेत्रमा प्रवेशका लागि सक्षम बनाउने उद्देश्यले विभिन्न प्रदर्शनी तथा प्रतियोगिता आयोजना गर्दै आएको छ।






