चलचित्र क्षेत्रको विकास र प्रवर्द्धनमा सरकार प्रतिबद्ध : सञ्चारमन्त्री तिमिल्सिना


ब्युटी न्युज नेपाल
काठमाडौँ, १५ असोज

नेपाली चलचित्र क्षेत्रको दीर्घकालीन विकास, प्रवर्द्धन र व्यवस्थित व्यवस्थापनका लागि आवश्यक नीतिगत तथा कानुनी सुधारलाई प्राथमिकताका साथ अघि बढाइरहेको सरकारले जनाएको छ । दोस्रो राष्ट्रिय चलचित्र दिवसको अवसरमा सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले शुभकामना सन्देश जारी गर्दै चलचित्र क्षेत्रसँग सम्बन्धित विभिन्न विषयमा सरकार प्रतिबद्ध रहेको बताएका हुन् ।

मन्त्रालयले जारी गरेको शुभकामना सन्देशमा सम्पूर्ण नेपाली चलचित्रकर्मी, कलाकार, निर्देशक, निर्माता, प्राविधिक तथा चलचित्र क्षेत्रसँग आबद्ध सबैलाई राष्ट्रिय चलचित्र दिवसको अवसरमा शुभकामना व्यक्त गरिएको छ ।

नेपाली चलचित्र कला, संस्कृति, मौलिकता र राष्ट्रिय पहिचानलाई उजागर गर्ने महत्वपूर्ण माध्यम भएको उल्लेख गर्दै मन्त्री तिमिल्सिनाले नेपाली समाजका कथा, संवेदना र सिर्जनशीलतालाई पर्दामार्फत प्रस्तुत गर्दै चलचित्रकर्मीहरूले यस क्षेत्रको विकास तथा प्रवर्द्धनमा पुर्‍याएको योगदानको उच्च सम्मान गरेका छन् ।

सरकारले चलचित्र क्षेत्रको दीर्घकालीन विकास, चलचित्रकर्मीको व्यावसायिक हित, नेपाली चलचित्रको प्रवर्द्धन तथा अन्य सरोकारका विषयमा आवश्यक व्यवस्था गर्न प्रतिबद्ध रहेको शुभकामना सन्देशमा उल्लेख छ । चलचित्र क्षेत्रको विकासका लागि आवश्यक नीतिगत तथा कानुनी सुधारलाई सरकारले प्राथमिकताका साथ अघि बढाइरहेको पनि सन्देशमा जनाइएको छ ।

नेपाली चलचित्रले पछिल्लो समय थप उचाइ हासिल गर्दै अन्तर्राष्ट्रियस्तरमा समेत नेपालको मौलिक कथा, कला र प्रतिभालाई परिचित गराउन सफल भएको मन्त्री तिमिल्सिनाले उल्लेख गरेका छन् । नेपाली कलाकार, प्राविधिक तथा चलचित्रकर्मीको सिर्जनशीलता र क्षमता अझ व्यापक रूपमा विश्वमाझ पुग्न सकोस् भन्ने शुभकामनासमेत उनले व्यक्त गरेका छन् ।

नेपालमा पहिलो नेपाली चलचित्र ‘आमा’ प्रदर्शन भएको दिन असोज १५ गतेलाई राष्ट्रिय चलचित्र दिवसका रूपमा मनाउने गरिएको हो । राष्ट्रिय चलचित्र दिवसको अवसरमा आज चलचित्रकर्मीहरूले विभिन्न माध्यमबाट एकअर्कामा शुभकामना आदानप्रदान गर्दै दिवस मनाइरहेका छन् । सरकारी शुभकामना सन्देशले नेपाली चलचित्रको विकास, प्रवर्द्धन र चलचित्रकर्मीको योगदानलाई संस्थागत रूपमा सम्बोधन गर्ने प्रतिबद्धता दोहोर्‍याएको छ।