ब्युटी न्युज नेपाल
काठमाडौँ, १३ असोज
पाँच सयभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका मोडल बिक्रम बुढाथोकी अब चलचित्रको पर्दामा देखिने भएका छन्। नवीन पन्तको लेखन तथा निर्देशनमा निर्माण हुन लागेको चलचित्र ‘बाकस’बाट उनले औपचारिक रूपमा चलचित्र यात्रा सुरु गर्न लागेका हुन्।
म्युजिक भिडियोमा लामो समयदेखि सक्रिय बिक्रमले गायक प्रमोद खरेलका दुई सयभन्दा बढी गीतका भिडियोमा सहकार्य गरिसकेका छन्। म्युजिक भिडियोमा आफ्नो अभिनयमार्फत परिचित बनेका उनलाई ‘बाकस’मा महत्वपूर्ण भूमिकाका लागि अनुबन्ध गरिएको निर्माण पक्षले जनाएको छ।
चलचित्रका लागि हाल कलाकार तथा प्राविधिक छनोटको काम अन्तिम चरणमा पुगेको छ। यसअघि चलचित्रमा विपना थापा, वर्षा राउत, महेश त्रिपाठी, भोला राज सापकोटा र सुपला सापकोटा अनुबन्ध भइसकेका छन्। बाल कलाकारतर्फ रेखा भण्डारी, अविरल चौलागाईं, सनाज चौलागाईं र सगुन खड्का रहेका छन्।
‘बाकस’को निर्माण सुजिता चौलागाईंले गर्नेछिन् भने छत्रबहादुर खड्का सह–निर्माता र धीरेन्द्र पन्त ‘धिरु भाइ’ कार्यकारी निर्माता रहेका छन्।
चलचित्रमा दीपक शर्मा र सनम पुरुष राईको संगीत रहनेछ। गीत तथा शब्दमा दीपक शर्मा र निर्देशक नवीन पन्तको योगदान रहने निर्माण पक्षले जनाएको छ। मुख्य सहायक निर्देशकमा मनि तामाङ, द्वन्द्व निर्देशकमा किरण दाहाल, छायाँकारमा महेश पौडेल र प्रोडक्सन म्यानेजरमा निर्मल न्यौपाने रहेका छन्।
चलचित्रको छायांकन तथा अन्य निर्माण कार्य पूरा भएपछि प्रदर्शन मिति तय गर्ने तयारीमा निर्माण पक्ष रहेको छ।



