थाइल्यान्ड उडे गिरिशरत्न, ‘मिस्टर ग्लोबल’ नेपालको प्रतिनिधित्व गर्ने


ब्युटी न्युज नेपाल
काठमाडौँ, १२ असोज

अन्तर्राष्ट्रिय पुरुष सौन्दर्य प्रतियोगिता ‘मिस्टर ग्लोबल २०२६’मा नेपालको प्रतिनिधित्व गर्न गिरिशरत्न शाक्य थाइल्यान्ड प्रस्थान गरेका छन्। ‘मिस्टर नेपाल २०२५’ अन्तर्गत ‘मिस्टर ग्लोबल नेपाल’को उपाधि जितेका शाक्य सोमबार नेपाल एयरलाइन्सको विमानमार्फत प्रतियोगितास्थलतर्फ गएका हुन्।

थाइल्यान्डमा सेप्टेम्बर २९ देखि अक्टोबर १० सम्म आयोजना हुने प्रतियोगितामा विश्वका करिब ४० देशका प्रतिस्पर्धी सहभागी हुने आयोजकले जनाएको छ। प्रतियोगितामा शाक्य नेपालको एकमात्र प्रतिनिधिका रूपमा सहभागी हुँदैछन्।

नेक्स्ट मोडल्स नेपालले आयोजना गरेको ‘मिस्टर नेपाल २०२५’मा ‘मिस्टर ग्लोबल नेपाल’को उपाधि हासिल गरेपछि शाक्यले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाएका हुन्। उनलाई नेक्स्ट मोडल्स नेपालले प्रतियोगिताका लागि थाइल्यान्ड पठाएको हो।

नेक्स्ट मोडल्स नेपालका प्रमुख कार्यकारी अधिकृत रवि धमलाका अनुसार शाक्यले प्रतियोगितामा नेपाली मौलिक कला, संस्कृति र पहिचानलाई प्राथमिकताका साथ प्रस्तुत गर्नेछन्। प्रतियोगिताका लागि उनले आवश्यक प्रशिक्षण तथा तयारीसमेत पूरा गरिसकेका छन्। पुरुष सौन्दर्य, व्यक्तित्व र प्रतिभालाई केन्द्रमा राखिने ‘मिस्टर ग्लोबल’ अन्तर्राष्ट्रियस्तरमा चर्चित प्रतियोगितामध्ये एक हो।