ब्युटी न्युज नेपाल
काठमाडौँ, ११ असोज
मगर समुदायको मौलिक संस्कृति र गण्डकी क्षेत्रको कौडा भाकालाई केन्द्रमा राखिएको चलचित्र ‘जलाकी’को दोस्रो गीत ‘जाले रुमाल मायालाई’ सार्वजनिक भएको छ। आगामी मंसिर ४ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रको गीतमा मुख्य जोडी उपासना सिंह ठकुरी र सोनम तोप्देनलाई मगर समुदायको पहिरनमा प्रस्तुत गरिएको छ।
एसडी योगी र रेश्मा पुनको स्वर रहेको गीतमा सुरेन्द्र रानाको शब्द तथा एसडी योगीकै संगीत छ। गीतका संगीत निर्माता रिकेश गुरुङ हुन्। सार्वजनिक भिडियोमा उपासना र सोनमबीचको प्रेमभावलाई मौलिक सांस्कृतिक परिवेशसँग जोडेर प्रस्तुत गरिएको छ।
सुरेन्द्र राई, सुसन तामाङ र शेखर घर्ती मगरको कोरियोग्राफी रहेको भिडियोमा चलचित्रका कलाकार अस्तित्व भट्टचन, राजु रेग्मी मगर, दीपिका मगरलगायतलाई पनि देख्न सकिन्छ। गीतले प्रेमकथासँगै स्थानीय संस्कृति, पहिरन र नृत्यलाई समेत प्राथमिकताका साथ प्रस्तुत गरेको छ।
अशोक थापा मगरको निर्देशनमा बनेको ‘जलाकी’मा उपासना र सोनमसँगै शिल्पा मास्के, अस्तित्व भट्टचन, साहारा हाङमा लिम्बू, राजु रेग्मी मगर, भावना मगर, माओत्से गुरुङ, बुद्धि तामाङ, उषा खड्गी र खड्कबहादुर पुनलगायत कलाकारको अभिनय रहेको छ। अभिनेता तथा क्याप्टेन विजय लामा चलचित्रमा विशेष भूमिकामा देखिएका छन्।
एम मिडिया प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको चलचित्रका निर्मातामा बेताने मगर (बबिता राना), ओम घर्ती मगर, वीरबहादुर लामा, चन्द्रबहादुर भट्टचन, मानबहादुर धनाह मगर र सुस्मिता बुढाथोकी रहेका छन्।
निर्देशक अशोक थापा मगरकै लेखन रहेको चलचित्रमा शैलेन्द्र डी. कार्कीको छायांकन, अशोक थापा मगरको सम्पादन तथा सरित रयान र एसडी योगीको संगीत रहेको छ।
मौलिक संस्कृति, प्रेमकथा र स्थानीय परिवेशलाई कथाको प्रमुख आधार बनाइएको ‘जलाकी’ मंसिर ४ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ।






