‘टनेल २६’ को ग्रस आम्दानीको २५ प्रतिशत विपद् कोषमा


ब्युटी न्युज नेपाल
काठमाडौँ, ११ असोज

नेपाल, भुटान र भारतको संयुक्त निर्माणमा तयार भएको चलचित्र ‘टनेल २६’ को ग्रस आम्दानीको २५ प्रतिशत प्रधानमन्त्री विपद् कोषमा प्रदान गरिने भएको छ। असोज २३ गते नेपाल र भुटानमा एकसाथ प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रका निर्माता तथा मुख्य कलाकार सांगे छेल्ट्रिमले उक्त घोषणा गरेका हुन्।

छेल्ट्रिमसहित चलचित्रको निर्माण टोलीले गृहमन्त्री सुदन गुरुङसँग भेट गरी चलचित्रबारे जानकारीसमेत गराएको छ। भेटका क्रममा गृहमन्त्री गुरुङले ‘टनेल २६’ टोलीलाई सफलताको शुभकामना दिँदै चलचित्रले नेपाल, भुटान र भारतबीचको सांस्कृतिक तथा भौगोलिक सम्बन्धलाई प्रतिनिधित्व गर्ने बताए।

नेपालमा पछिल्लो समय आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै आफू र चलचित्रको तर्फबाट सहयोग गर्न लागेको छेल्ट्रिमले बताएका छन्। चलचित्रमा आफ्नो ५० प्रतिशत सेयर रहेको र त्यसको आधा अर्थात् समग्र चलचित्रको ग्रस आम्दानीको २५ प्रतिशत रकम विपद् कोषमा प्रदान गर्ने उनले स्पष्ट पारेका छन्।

सुरुङभित्र मानिस फसेको घटनाको कथावस्तुसँग चलचित्र जोडिएको उल्लेख गर्दै गुरुङले कठिन परिस्थितिमा फसेका मानिसले भोग्ने संघर्ष र बाँच्न गरेको प्रयासलाई चलचित्रले प्रस्तुत गर्ने बताए। हिमाली क्षेत्रका नागरिकले कमजोर पूर्वाधार, विभिन्न सामाजिक समस्या तथा कठिन भौगोलिक अवस्थाका कारण भोग्नुपरेका चुनौतीबारे पनि उनले धारणा राखेका थिए।

‘टनेल २६’ को निर्माणमा नेपालबाट अभिनेता प्रदीप खड्का र चौधरी ग्रुपका निर्वाण चौधरीले सहकार्य गरेका छन्। प्रदीप क्रिएटिभ निर्माताका रूपमा आबद्ध छन्। सङ्गे फिल्म्स र पिक एक्सभीको प्रस्तुति रहेको चलचित्रमा डोर्जी प्रोडक्सन, रेल्टिक पिक्चर्स, भुटान सरकारअन्तर्गतको सम्बन्धित निकाय र रोलिङ इमेज पिक्चर्सको सहकार्य रहेको छ।

चलचित्रमा सांगे छेल्ट्रिमसँगै नेपालका अनुपविक्रम शाही र आना शर्मा मुख्य भूमिकामा छन्। निदुप दोर्जी, डेकी लामो, फुन्टशोक धोन्डेन र रोशनी दादालगायत कलाकारको पनि अभिनय रहेको छ।