काठमाडौं क्षेत्र नं. ३ मा भोलि सोमबार क्षेत्रीय अधिवेशन हुँदै, क्षेत्रीय सभापतिमा सन्तोष सुबेदीको उम्मेदवारी


ब्युटी न्युज नेपाल
काठमाडौँ, ११ असोज

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काठमाडौं निर्वाचन क्षेत्र नं. ३ को क्षेत्रीय अधिवेशन भोलि सोमबार हुने भएको छ। नेतृत्व चयनका विषयमा उम्मेदवारहरूबीच सहमति जुट्न नसकेपछि आजका लागि तय भएको प्रक्रिया स्थगित गर्दै भोलि दिउँसो १ बजे जोरपाटीस्थित पीस ब्याङ्क्वेटमा अधिवेशन सञ्चालन गर्ने तयारी गरिएको हो।

क्षेत्रीय सभापति पदका उम्मेदवार सन्तोष सुबेदीले नेपाली कांग्रेस लोकतान्त्रिक विधि, प्रतिस्पर्धा र प्रतिनिधिको स्वतन्त्र निर्णयमा विश्वास गर्ने भएकाले नेतृत्व चयनमा पनि प्रतिनिधिको मत महत्वपूर्ण हुने बताएका छन्।

काठमाडौं क्षेत्र नं. ३ बाट क्षेत्रीय सभापति पदमा उम्मेदवारी दिएका सुबेदीले अनुभव, युवा ऊर्जा र नयाँ सोचलाई संगठन निर्माणमा जोड्ने प्रतिबद्धता व्यक्त गरेका छन्। समाजशास्त्र तथा मानवशास्त्रमा स्नातक गरेका सुबेदी लामो समयदेखि शिक्षा तथा सामाजिक क्षेत्रमा सक्रिय छन्। उनी शिक्षा र सामाजिक चेतनाका क्षेत्रमा कार्यरत संस्था क्याम्पेन फर एजुकेशनल अवेयरनेस नेपाल (सीईएएन) को नेतृत्व गर्दै आएका छन्।

त्यस्तै, चलचित्र तथा संस्कृति क्षेत्रमा निर्माता र फिल्म फेस्टिभल निर्देशकका रूपमा समेत सक्रिय सुबेदी नेपाल कल्चर एन्ड फिल्म सेन्टर (एनसीएफसी) को नेतृत्वमा छन्। उनको नेतृत्वमा नेपाल कल्चरल इन्टरनेसनल फिल्म फेस्टिभल (एनसीआईएफएफ) राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहभागितासहित आयोजना हुँदै आएको छ।

शिक्षा, सामाजिक सेवा, चलचित्र, संस्कृति तथा पर्यटन क्षेत्रमा हासिल गरेको अनुभवलाई राजनीतिक संगठनसँग जोड्दै समावेशी, पारदर्शी, गतिशील र जनमुखी संगठन निर्माण गर्ने आफ्नो लक्ष्य रहेको सुबेदीले बताएका छन्।

पार्टीले १६५ निर्वाचन क्षेत्रमा युवा तथा महिलाको अधिकतम सहभागितालाई प्राथमिकता दिने नीति अघि सारेको उल्लेख गर्दै उनले त्यसलाई व्यवहारमा कार्यान्वयन गर्न नयाँ पुस्ताको सक्रिय सहभागिता आवश्यक रहेको बताए।

सुबेदीले काठमाडौं क्षेत्र नं. ३ का सम्पूर्ण क्षेत्रीय प्रतिनिधिलाई भोलिको निर्वाचनमा सहभागी भई आफ्नो विवेकअनुसार मतदान गर्न अपिल गरेका छन्। उनले आफ्नो उम्मेदवारी कुनै व्यक्ति वा समूहविरुद्ध नभई अनुभव र नयाँ पुस्ताको ऊर्जालाई संगठन निर्माणमा जोड्ने उद्देश्यले रहेको स्पष्ट पारेका छन्।