‘झिंगे दाउ २’को ‘आमा भए पो स्वर्ग हुन्छ घर’ गीत सार्वजतिक


ब्युटी न्युज नेपाल
काठमाडौँ, ९ असोज

प्रदर्शनको पहिलो साता पूरा गरिसकेको चलचित्र ‘झिँगे दाउ २’ले नयाँ गीतमार्फत कथाको भावनात्मक पक्षलाई दर्शकमाझ प्रस्तुत गरेको छ । चलचित्रमा समावेश ‘आमा भए पो स्वर्ग हुन्छ घर’ बोलको गीत निर्माण पक्षले सार्वजनिक गरेको हो । आमाको उपस्थिति र परिवारमा उनको भूमिकालाई केन्द्रमा राखिएको गीतले आमा नहुँदा घरमा सिर्जना हुने अभाव र पीडालाई मार्मिक ढंगले अभिव्यक्त गरेको छ । गीतमा कुशल बेलबासेको स्वर तथा अर्जुन पोखरेलको शब्द र संगीत रहेको छ ।

असोज २ गतेदेखि प्रदर्शनमा आएको चलचित्रले पारिवारिक कथावस्तु, कलाकारको अभिनय तथा भावनात्मक प्रस्तुतिका कारण दर्शकको राम्रो प्रतिक्रिया पाइरहेको निर्माण पक्षले जनाएको छ । नयाँ गीतले चलचित्रको कथासँग जोडिएको भावनात्मक पक्षलाई थप प्रस्ट पार्ने अपेक्षा गरिएको छ । कपनगढी सिनेमा प्रा.लि. र फिल्म क्रिउ नेपाल प्रा.लि.को ब्यानरमा निर्मित चलचित्रको निर्देशन ज्ञानेन्द्र देउजाले गरेका हुन् । सुलभ प्रतिक देउजा र समीक्षा देउजा निर्माता तथा रोशनी अधिकारी देउजा र नीतु श्रेष्ठ देउजा सह–निर्माता छन् ।

चलचित्रमा केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठी, कुशल बिष्ट, आर्यन सिग्देल, हिउँवाला गौतम, सरोज खनाल, बसुन्धरा भुसाल, चैत्यदेवी सिंह, संगम भण्डारी, विजय देउजा, अंशु महर्जन, अभयराज बराल, उत्तम केसी र आशा भुसाललगायतको अभिनय रहेको छ । परिच्छेद सेनको पटकथा तथा संवाद रहेको चलचित्रमा गोविन्द फुयाँल र शिशिर चालिसेको लेखन छ । विष्णु घिमिरे ‘कल्पित’को छायांकन, मित्र डी गुरुङको सम्पादन र रोशन श्रेष्ठको द्वन्द्व निर्देशन रहेको छ ।