झिँगोदाउ २ लाई दोस्रो सातामा पनि दर्शकको उत्साहजनक साथ


ब्युटी न्युज नेपाल
काठमाडौँ, १० असोज

पारिवारिक कथा, सम्बन्धभित्रको द्वन्द्व र मनोरञ्जनात्मक प्रस्तुतिलाई केन्द्रमा राखिएको चलचित्र ‘झिँगेदाउ २’ ले प्रदर्शनको दोस्रो सातामा पनि दर्शकको उत्साहजनक साथ पाइरहेको छ। असोज २ गतेदेखि प्रदर्शनमा आएको चलचित्रले पहिलो सातामा करिब डेढ करोड रुपैयाँको कारोबार गरेको वितरकले जनाएको छ।

दोस्रो साताको शनिबार पनि विभिन्न हलमा चलचित्रले राम्रो दर्शक पाएको निर्माण पक्षको भनाइ छ। दर्शकको चापलाई मध्यनजर गर्दै केही हलमा शनिबार शो संख्या समेत बढाइएको वितरकले जानकारी दिएको छ। पहिलो साताको व्यापार र दोस्रो सातामा देखिएको दर्शकको उपस्थितिले निर्माण टिम उत्साहित बनेको छ।

चलचित्र हेरेपछि दर्शकले यसको कथावस्तु, कलाकारको अभिनय, प्रस्तुति तथा गीत–संगीतको प्रशंसा गरिरहेका छन्। पारिवारिक सम्बन्धभित्र उत्पन्न हुने झगडा, मनमुटाव र त्यसले निम्त्याउने परिस्थितिलाई मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गरिएको चलचित्रले दर्शकलाई हँसाउनुका साथै भावुक पनि बनाएको प्रतिक्रिया प्राप्त भइरहेको छ। सामाजिक सञ्जालमा सार्वजनिक दर्शक प्रतिक्रियामा कतिपय दर्शक भावुक हुँदै हलबाट बाहिरिएको देखिन्छ।

ज्ञानेन्द्र देउजाको निर्देशन रहेको ‘झिँगेदाउ २’को कथा जेठानी र देउरानीबीचको झगडाबाट सुरु हुने पारिवारिक कलहको वरिपरि घुमेको छ। सामान्य देखिने पारिवारिक विवाद कसरी ठूलो द्वन्द्वमा परिणत हुन्छ र त्यसले परिवारका सदस्यबीचको सम्बन्धमा कस्तो प्रभाव पार्छ भन्ने विषयलाई चलचित्रले मनोरञ्जनसँग जोडेर प्रस्तुत गरेको छ। आमाको माया, भूमिका र त्यागलाई समेत कथामा महत्त्वका साथ समेटिएको छ।

चलचित्रमा केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठी, कुशल विष्ट, आर्यन सिग्देल, हिउँवाला गौतम, सरोज खनाल, बसुन्धरा भुसाल, चैत्यदेवी सिंह, संगम भण्डारी, विजय देउजा, अंशु महर्जन, अभयराज बराल, उत्तम केसी र आशा भुसाललगायत कलाकारको अभिनय छ।

परिच्छेद सेनको पटकथा तथा संवाद रहेको चलचित्रमा गोविन्द फुयाँल र शिशिर चालिसेको लेखन छ। कपनगढी सिनेमा प्रालि र फिल्म क्रिउ नेपाल प्रालिको ब्यानरमा निर्मित चलचित्रमा सुलभ प्रतीक देउजा र समीक्षा देउजाको लगानी तथा रोशनी अधिकारी देउजा र नीतु श्रेष्ठ देउजाको सह–निर्माण छ। विष्णु घिमिरे ‘कल्पित’को छायांकन, मित्र डी गुरुङको सम्पादन, अर्जुन पोखरेलको संगीत र रोशन श्रेष्ठको द्वन्द्व निर्देशन रहेको छ।