ब्युटी न्युज नेपाल
काठमाडौँ, ८ असोज
गायक कमल खत्रीको नयाँ गीत ‘यो आँखामा’ सार्वजनिक भएको छ। प्रेमभावलाई केन्द्रमा राखिएको गीतमा कमल खत्रीसँगै गायिका शोभा अधिकारीले स्वर दिएकी छन्।
शालु श्रेष्ठको शब्द रहेको गीतमा कमल खत्रीकै संगीत रहेको छ। गीतलाई विजेश्वर तन्डुकारले संगीत संयोजन गरेका हुन् भने राजेश तन्डुकारले मिक्सिङ तथा मास्टरिङ गरेका छन्।
गीतको भिडियोमा करन सुनार र साहारा बसलेलाई फिचरिङ गरिएको छ। किरण थापाको कोरियोग्राफी तथा निर्देशन रहेको भिडियोमा करन र साहाराको आकर्षक नृत्य प्रस्तुत गरिएको छ। प्रेमभावमा आधारित गीतको भावअनुसार तयार पारिएको नृत्य संयोजनले भिडियोमा थप आकर्षण थपेको छ।
भिडियोको छायांकन, सम्पादन तथा कलर संयोजन पवन सुस्लिङले गरेका छन्। उनलाई प्रवेश खत्रीले छायांकन तथा सम्पादनमा साथ दिएका छन्।
गायक खत्रीले यस गीतमार्फत प्रेम र भावनालाई सरल तथा मिठासपूर्ण शैलीमा प्रस्तुत गर्ने प्रयास गरेका छन्। गीत सार्वजनिक भएसँगै श्रोता तथा दर्शकबाट सकारात्मक प्रतिक्रिया पाउने अपेक्षा निर्माण पक्षले गरेको छ।
कमल खत्री नेपाली सांगीतिक क्षेत्रमा प्रेम तथा भावनात्मक गीतका कारण परिचित गायक हुन्। ‘यो आँखामा’मार्फत उनले गायिका शोभा अधिकारीसँग सहकार्य गरेका छन्। गीतको अडियोसँगै भिडियो पनि सार्वजनिक गरिएको हो।






