ब्युटी न्युज नेपाल
काठमाडौँ, ५ असोज
तीन दशकभन्दा लामो सांगीतिक यात्रामा नेपालमा आफ्नो छुट्टै पहिचान बनाएको चर्चित ब्यान्ड ‘मंगोलियन हार्ट’ पहिलोपटक युरोपेली सांगीतिक यात्रामा निस्कने भएको छ। फोर ब्रदर्स इभेन्ट म्यानेजमेन्टको व्यवस्थापनमा आयोजना हुने ‘मंगोलियन हार्ट युरोप मिनी टुर २०२६’ अन्तर्गत ब्यान्डले चार युरोपेली देशमा प्रत्यक्ष प्रस्तुति दिनेछ।
सन् १९९२ मा स्थापना भएको ब्यान्डको आठ सदस्यीय टोली सेप्टेम्बर २४ मा नेपालबाट युरोप प्रस्थान गर्ने तयारीमा छ। टोलीमा गायक राजु लामा, ब्यान्ड म्यानेजर तथा गिटारिस्ट बोबी लामा, ड्रमर सन्तोष थापा मगर, बास गिटारिस्ट पवन कपाली, लिड गिटारिस्ट भूपेन्द्र बज्राचार्य, मादल तथा तालवादक बाबुराजा महर्जन, बाँसुरीवादक विनय महर्जन र साउन्ड इन्जिनियर निरेन्द्र रञ्जित सहभागी हुनेछन्।
निर्धारित कार्यक्रमअनुसार सेप्टेम्बर २६ मा डेनमार्क, अक्टोबर ३ मा रोमानिया, अक्टोबर ५ मा पोर्चुगल र अक्टोबर ११ मा क्रोएसियामा ब्यान्डले प्रस्तुति दिनेछ।
यात्रालाई मनोरञ्जनसँगै सामाजिक सेवासँग जोड्दै ब्यान्डले रसुवा बाढी प्रभावित परिवारका लागि सहयोग गर्ने जनाएको छ। गायक राजु लामाका अनुसार भ्रमणबाट प्राप्त रकमको केही हिस्सा राहत तथा सहयोगमा छुट्याइनेछ।
ब्यान्ड म्यानेजर बोबी लामाले युरोपमा रहेका नेपाली समुदाय तथा संगीतप्रेमीलाई कार्यक्रममा सहभागी भई नेपाली संगीतको उत्सवसँगै विपद् प्रभावित परिवारलाई सहयोग गर्न आग्रह गरेका छन्।






