ब्युटी न्युज नेपाल
काठमाडौँ, २९ भदौ
ख्यातिप्राप्त गायिका तथा संगीतकार मिरा राणा आफ्नो जीवनको अन्तिम एकल सांगीतिक साँझमा प्रस्तुत हुने भएकी छन्। क्यान्सरलाई पराजित गरेकी ७५ वर्षीया राणाले आगामी असोज ४ गते आइतबार कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा ‘मिरा राणा एकल सांगीतिक साँझ’ आयोजना गर्न लागेकी हुन्।
आफू क्यान्सरबाट मुक्त भए पनि यही रोगका कारण पति उदयजंग राणालाई गुमाउनुपरेको पीडालाई उनले सामाजिक सेवामा रूपान्तरण गरेकी छन्। क्यान्सरपीडितको उपचार तथा सहयोगमा सघाउने उद्देश्यले उनले ‘मिरा राणा क्यान्सर समाज’ स्थापना गरेकी छन्। समाजको कोष वृद्धि गरी क्यान्सरपीडितलाई सहयोग गर्ने उद्देश्यले नै आफ्नो जीवनको अन्तिम कार्यक्रमका रूपमा एकल सांगीतिक साँझ आयोजना गर्न लागेको राणाले बताएकी छन्।
कार्यक्रममा राणाले स्वर दिएका तथा संगीत भरेका करिब दुई दर्जन गीत विभिन्न गायक–गायिकाले आ–आफ्नै शैलीमा प्रस्तुत गर्नेछन्। कार्यक्रममा शम्भुजीत बाँस्कोटा, रामभक्त जोजिजू, कपिल लोहोनी, कृष्णगोपाल श्रेष्ठ, योगेन्द्र उपाध्याय, छिरिङ भुटिया, तारा थापा, संगीता थापा शाक्य, निशा देशार, रूपी सिंह, माण्डवी त्रिपाठी, सविना कार्की, इतु जोजिजू, शीतल थापा र युनिशा देशारलगायतको प्रस्तुति रहनेछ। राणाले पनि आफ्ना केही लोकप्रिय गीत प्रस्तुत गर्नेछिन्। कार्यक्रममा मनोहर सुनामले संगीत संयोजन तथा सञ्चालन गर्नेछन्।
सांगीतिक साँझमा राणाले स्वर सम्राट नारायणगोपालसँग गाएका ‘तिमी देऊ या नदेऊ’, ‘मेरो जोवन लैजाऊ’, ‘आँखैमा कसैको तस्बिर बसेछ’ र ‘बैनीको दया छ भने’ लगायतका गीत प्रस्तुत गरिनेछ।
त्यस्तै, शम्भुजीत बाँस्कोटासँग गाएका ‘नाच्देऊ मैच्याङ’ र ‘सिन्धुपाल्चोक जिल्लामा’, कुमार बस्नेतसँगका ‘मादल घनघन घन्काऊँ कि’ तथा ‘लेक फुल्यो लालीगुराँस’ पनि कार्यक्रममा प्रस्तुत हुनेछन्। राणाका ‘मखमली चोलो चाहिँदैन’, ‘मात चढेको साँझ’, ‘नशालु रात’, ‘मेरो पाउमा आज’, ‘साम्द सदा शिव’, ‘बिर्सिएर मैले फेरि’, ‘आजसम्म जसरी बाँचेेर आएँ’ र ‘मेरो फूललाई वसन्त भयो’ लगायतका चर्चित गीतसमेत कार्यक्रममा समेटिनेछन्।






