ब्युटी न्युज नेपाल
काठमाडौँ, २८ भदौ
रिबन इन्टरटेनमेन्ट प्रालिको आयोजनामा राजधानीमा सञ्चालन गरिएको ‘सुपर ट्यालेन्ट नेपाल २०२६’ नृत्य तथा गायन प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगिताको नृत्य र गायन विधामा गरी कुल १७ जना प्रतियोगीले सहभागिता जनाएका थिए।
नृत्य विधातर्फ प्रियंशु न्यौपाने विजेता घोषित भए। सुपिक्षा थापा मगर प्रथम रनर्सअप तथा अपेक्षा खाती द्वितीय रनर्सअप भए। आयुषी थापा पब्लिक च्वाइस विनर र सचिना तामाङ भ्यूअर्स च्वाइस विनर घोषित भए।
त्यस्तै, गायन विधातर्फ समीक्षा तामाङले विजेताको उपाधि हात पारिन्। अनुष्का अधिकारी प्रथम रनर्सअप तथा सुम्निशा लिम्बू द्वितीय रनर्सअप भए। समीक्षा तामाङ पब्लिक च्वाइस विनर र सेमसाङ गुरुङ भ्यूअर्स च्वाइस विनर घोषित भए।
नृत्य र गायन दुवै विधाका विजेतालाई जनही २५ हजार रुपैयाँ नगद पुरस्कारसहित १६टी रेस्ट्रो एन्ड बारका गिफ्ट भौचर प्रदान गरिएको थियो। अन्य विजेतालाई पनि विभिन्न आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिएको आयोजकले जनाएको छ।
नेपालकी प्रथम अभिनेत्री भुवन चन्द थापाको प्रमुख आतिथ्यता तथा रिबन इन्टरटेनमेन्ट प्रालिका अध्यक्ष निशुकान्त झाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रमको सञ्चालन अश्विनी झाले गरेकी थिइन्।
प्रतियोगिताका सहभागीलाई नृत्यतर्फ सन्दीप भुजेलले डान्स शिक्षक तथा गायनतर्फ ओम सुनारले संगीत शिक्षकका रूपमा प्रशिक्षण दिएका थिए। गायन विधाको निर्णायक मण्डलमा वरिष्ठ गायिका कुन्ती मोक्तान, वरिष्ठ संगीत निर्देशक राजु सिंह र गायिका सुमित्रा कोइराला रहेका थिए। नृत्यतर्फ वरिष्ठ नृत्य निर्देशक भुवन दास श्रेष्ठ, कोरियोग्राफर कृष्ण रसाल र अभिनेता शितल केसी निर्णायक रहेका थिए।
कार्यक्रम व्यवस्थापनमा गंगा महर्जनले टिम म्यानेजर तथा बिन्दिया श्रेष्ठले मोडल कोअर्डिनेटरका रूपमा जिम्मेवारी निर्वाह गरेका थिए।
कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वलाई सम्मानसमेत गरिएको थियो। सम्मानित हुनेमा समाजसेवी, लिम्बू कलाकार तथा व्यवसायी सरु माङ्मु लिम्बू, चलचित्र अभिनेता तथा युवा व्यवसायी देबेन्द्र नेम्बाङ, चलचित्र निर्माता तथा व्यवसायी तारा शिरेङ चोङ्बाङ, कवि, गीतकार तथा व्यवसायी अञ्जना राई, कवि तथा गीतकार सनी लिम्बू, गीतकार तथा चलचित्र निर्माता जस्मिन श्रेष्ठ, चलचित्र निर्माता तथा व्यवसायी पुजा गुरुङ, छाला रोग विशेषज्ञ तथा हेयर ट्रान्सप्लान्ट सर्जन एसोसिएट प्रोफेसर डा. सुचना मरहट्टा, ब्युटिसियन तथा सौन्दर्यकर्मी अमित्रा ढेके, रोशना राजथला र चन्दा पुनलगायत रहेका थिए।






