किन दिइन एक्कासी उद्योगमन्त्री गौरीकुमारी यादवले मन्त्री पदबाट राजिनामा


ब्युटी न्युज नेपाल
काठमाडौँ, २५ भदौ

बजारमा खाना पकाउने ग्यासको अभाव चर्किएपछि त्यसको व्यवस्थापन प्रभावकारी रूपमा गर्न नसकेको आरोप खेप्दै आएकी उद्योगमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन्। उनले बिहीबार प्रधानमन्त्री बालेन्द्र शाहसमक्ष आफ्नो राजीनामा बुझाएकी हुन्।

मन्त्री यादवका सञ्चार संयोजक कमल चौलागाईंका अनुसार यादवले प्रधानमन्त्री शाहलाई भेटेर राजीनामा बुझाएकी हुन्। पछिल्लो समय ग्यासको सहज आपूर्ति र व्यवस्थापनको विषयलाई लिएर सरकारमाथि प्रश्न उठिरहेका बेला उनको राजीनामा आएको हो।

प्रधानमन्त्री शाहले पनि ग्यास आपूर्ति व्यवस्थापन प्रभावकारी बनाउन नसकेको भन्दै केही समयअघि नै मन्त्री यादवसँग राजीनामा मागेको बताइएको थियो। यद्यपि, त्यसबेला उनले पदबाट राजीनामा दिएकी थिइनन्।

यसैबीच, बुधबार संसदीय समितिको बैठकमा मन्त्री यादवले ग्यास उद्योगीहरूलाई लक्षित गर्दै दिएको विवादास्पद अभिव्यक्तिपछि उनी थप आलोचित भएकी थिइन्। उद्योगीहरूप्रति आपत्तिजनक शैलीमा प्रस्तुत भएको भन्दै उक्त अभिव्यक्तिको व्यवसायीहरूले विरोध गरेका थिए।

उद्योगीहरूले मन्त्रीको अभिव्यत्तिप्रति आपत्ति जनाउँदै प्रधानमन्त्री शाहसमक्ष समेत ध्यानाकर्षण गराएका थिए। यही घटनापछि मन्त्री यादवमाथि राजीनामाका लागि थप दबाब बढेको स्रोतको दाबी छ। ग्यास अभावका कारण उपभोक्ता समस्यामा परिरहेका बेला मन्त्रालयको आपूर्ति व्यवस्थापन र उद्योगीहरूसँगको समन्वयलाई लिएर सरकारमाथि आलोचना हुँदै आएको थियो। यादवको राजीनामापछि उद्योग मन्त्रालयको जिम्मेवारी कसलाई दिने भन्ने विषयमा भने निर्णय हुन बाँकी छ।

आफ्नो मन्त्री पदबाट राजिनामा दिएपछि मान्त्रालयबाट उनी निक्लँदै गर्दा मिडियाले प्रतिक्रिया लिन चाहेका थिए । उनी रुँदै मन्त्रालयबाट निक्लेकी थिईन् । तर कुनै प्रतिक्रिया दिईनन् । प्रधानमन्त्री बालेनको गाउँकी भएका कारण पनि मन्त्री बनेको आरोप उनीमाथ बिगतमा समेत लागेको थियो ।