ब्युटी न्युज नेपाल
काठमाडौँ, २४ भदौ
एक वर्षअघि आन्दोलनका क्रममा आगलागीबाट पूर्ण रूपमा क्षतिग्रस्त भएको ‘लक्ष्मी हेयर एन्ड ब्युटी स्टुडियो’ नयाँ स्वरूपमा पुनः सञ्चालनमा आएको छ। आगलागी भएको एक वर्ष पूरा भएकै दिन काठमाडौँको महाराजगञ्जस्थित भाटभटेनीमा रहेको स्टुडियो पुनर्निर्माणपछि बुधबारदेखि पुनः सञ्चालनमा ल्याइएको हो।
रिलिजको तयारीमा रहेको नेपाली चलचित्र ‘कार्की साईँला’का अभिनेता तथा हास्यव्यंग्य कलाकार जितु नेपाल र अभिनेत्री प्रियना आचार्यले रिबन काटेर स्टुडियोको संयुक्त उद्घाटन गरे। आगलागीबाट खरानी भएको व्यवसायलाई छोटो समयमै पुनर्निर्माण गरी पुनः सञ्चालनमा ल्याइएको अवसरमा स्टुडियोमा आयोजित कार्यक्रममा चलचित्र तथा सौन्दर्य क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूको समेत उपस्थिति थियो।
उद्घाटनका क्रममा अभिनेता जितु नेपालले विपत्तिपछि पनि आफ्नो व्यवसायलाई पुनःस्थापित गरेर अघि बढ्नु सकारात्मक र प्रेरणादायी काम भएको बताए। आफू लामो समयदेखि ‘लक्ष्मी हेयर एन्ड ब्युटी स्टुडियो’को ग्राहक रहेको स्मरण गर्दै उनले स्टुडियो आगलागीमा परेको खबरले आफूलाई दुःखी बनाएको बताए।
नेपालका अनुसार आफूले लामो समयदेखि कोटेश्वरस्थित भाटभटेनीमा रहेको स्टुडियोबाट हेयरसम्बन्धी सेवा लिँदै आएका थिए। गत वर्ष आन्दोलनका क्रममा महाराजगञ्जसहित विभिन्न स्थानमा रहेका स्टुडियो आगलागीबाट क्षतिग्रस्त भएको घटनाले आफूलाई दुःखी बनाएको उनले बताए। आगलागीपछि आफूले स्टुडियोको अन्य शाखाबाट सेवा लिँदै आएको उल्लेख गर्दै उनले पुरानो संरचना खरानी भए पनि त्यही स्थानबाट नयाँ सुरुवात हुनु सकारात्मक सन्देश भएको बताए।

‘लक्ष्मी हेयर एन्ड ब्युटी स्टुडियो’की नियमित ग्राहकसमेत रहेकी अभिनेत्री प्रियना आचार्य ‘मुन्नी’ले महाराजगञ्जको १७ वर्ष पुरानो स्टुडियो पुनः सञ्चालनमा आउँदा खुसी लागेको बताइन्। फरक पहिचान बनाइसकेको स्टुडियो एक वर्षअघि पूर्ण रूपमा क्षतिग्रस्त भए पनि नयाँ संरचनाका साथ पुनःस्थापित हुन सफल भएको भन्दै उनले सञ्चालक तथा टिमलाई शुभकामना दिइन्।
आचार्यले आगामी पाँच वर्षभित्र देशका विभिन्न सहरमा ५१ वटा शाखा विस्तार गर्ने स्टुडियोको योजना सफल होस् भन्ने शुभकामना पनि दिइन्। आफूले लामो समयदेखि रोजाइको ब्युटी स्टुडियोका रूपमा ‘लक्ष्मी हेयर एन्ड ब्युटी स्टुडियो’लाई लिँदै आएको उनको भनाइ थियो।
स्टुडियोका अध्यक्ष लक्ष्मी ठाकुरले भने आगलागीबाट भएको क्षतिलाई चुनौतीका रूपमा लिएर पुनःस्थापनाको काम अघि बढाएको बताए। उनका अनुसार उनले भारतको मुम्बईमा हेयर डिजाइनरका रूपमा काम गरेपछि करिब २७ वर्षअघि नेपाल फर्किएर काठमाडौँको ठमेलबाट ‘लक्ष्मी हेयर एन्ड ब्युटी स्टुडियो’को यात्रा सुरु गरेका थिए।
ठाकुरका अनुसार त्यसको करिब १० वर्षपछि महाराजगञ्जस्थित भाटभटेनीमा पहिलो फ्रेन्चाइज शाखा सञ्चालनमा ल्याइएको थियो। लामो समयदेखि ग्राहकको विश्वास जित्दै आएको उक्त शाखा गत वर्षको आन्दोलनका क्रममा भएको आगलागीबाट पूर्ण रूपमा क्षतिग्रस्त भएको थियो।
एक वर्षको अवधिमा पुनर्निर्माणको काम पूरा गरी सोही स्थानबाट सेवा सुरु गरिएको ठाकुरले जानकारी दिए। ‘आगलागीमा हाम्रा दुईवटा स्टुडियो खरानी भए पनि अहिले हामी त्यही खरानीबाट माथि उठ्ने प्रयासमा छौँ,’ उनले भने।

हाल काठमाडौँ उपत्यकाभित्र महाराजगञ्ज भाटभटेनी, कोटेश्वर भाटभटेनी, पुल्चोक भाटभटेनी, कलंकी भाटभटेनी, स्काईवाक कमलादी र भैँसेपाटीमा ‘लक्ष्मी हेयर एन्ड ब्युटी स्टुडियो’का शाखा सञ्चालनमा रहेको ठाकुरले जानकारी दिए। आगामी दिनमा सेवा विस्तार गर्दै देशका विभिन्न सहरमा नयाँ शाखा खोल्ने तयारीसमेत भइरहेको उनले बताए।
ठाकुरका अनुसार ‘लक्ष्मी हेयर एन्ड ब्युटी स्टुडियो’ले आफ्नो २७ वर्षे यात्रामा सौन्दर्य सेवासँगै नेपाली चलचित्र क्षेत्रमा समेत योगदान दिँदै आएको छ। स्टुडियोका हेयर स्टाइलिस्ट, कन्सल्टेन्ट तथा डिजाइनरले दर्जनौँ नेपाली चलचित्रमा काम गरिसकेको उनले बताए।
गुणस्तरीय तथा सुलभ सेवा प्रदान गर्दै आएकै कारण ग्राहकको विश्वास र रोजाइ कायम गर्न सफल भएको ठाकुरको भनाइ छ। आगलागीबाट ठूलो क्षति व्यहोरे पनि ग्राहकको माया, टिमको निरन्तरता र पुनःस्थापनाको दृढ इच्छाशक्तिले स्टुडियोलाई फेरि उभ्याउन सफल भएको उनले बताए।
नयाँ संरचनासहित पुनः सञ्चालनमा आएको ‘लक्ष्मी हेयर एन्ड ब्युटी स्टुडियो’ले सौन्दर्य सेवाका क्षेत्रमा आफ्नो उपस्थितिलाई थप विस्तार गर्दै लैजाने जनाएको छ। आगलागीबाट सुरु भएको पुनर्निर्माणको यात्रा अब नयाँ शाखा विस्तार र थप गुणस्तरीय सेवातर्फ अघि बढ्ने सञ्चालक ठाकुरले बताए।






