रसुवा–नुवाकोटका बाढीपीडित १ हजार २५० घरधुरीलाई राहत दिँदै जीयू फाउन्डेसन


ब्युटी न्युज नेपाल
काठमाडौँ, २२ भदौ

रसुवा, नुवाकोट र धादिङका बाढी तथा पहिरो प्रभावित परिवारलाई तत्काल राहत तथा आवश्यक सामग्री उपलब्ध गराउने उद्देश्यले गणेश उज्ज्वल स्मृति प्रतिष्ठान (जीयू फाउन्डेसन) ले जापानस्थित विभिन्न सहयोगी तथा साझेदार संस्थासँगको सहकार्यमा राहत अभियान सञ्चालन गरिरहेको छ।

अभियानअन्तर्गत प्रभावित क्षेत्रको स्थलगत अवस्था र स्थानीय आवश्यकताका आधारमा खाद्यान्नसहित अत्यावश्यक राहत सामग्री वितरण भइरहेको फाउन्डेसनले जनाएको छ। हालसम्म १ हजार ५० घरधुरीमा राहत वितरण गरिसकिएको छ भने थप २०० घरधुरीमा राहत पुर्‍याउन बाँकी रहेको छ। पहिलो चरणमा कुल १ हजार २५० घरधुरीलाई राहत उपलब्ध गराउने लक्ष्य रहेको फाउन्डेसनकी अध्यक्ष साबित्री श्रेष्ठले जानकारी दिइन्।

फाउन्डेसनका अनुसार धादिङका २००, रसुवाको उत्तरगया गाउँपालिकाका २५० तथा गोसाइँकुण्ड गाउँपालिकाका २५० घरधुरीमा राहत सामग्री वितरण गरिएको छ। गोसाइँकुण्डका विद्युत् सेवा प्रभावित क्षेत्रलाई प्राथमिकतामा राख्दै मोबाइल चार्ज गर्न मिल्ने सोलार चार्जर, सोलार बत्ती, महिलाका लागि सेनेटरी प्याड तथा लामखुट्टेको झुललगायत सामग्रीसमेत वितरण गरिएको छ।

त्यसैगरी, नुवाकोटको बेलकोटगढी नगरपालिका–७ स्थित राई तथा मिजार बस्तीका ६७ घरधुरी र लमासोतीका दुई होल्डिङ सेन्टरमा रहेका ८३ घरधुरीलाई खाद्यान्न, ब्ल्याङ्केट, सोलार चार्जर, सोलार बत्ती, सेनेटरी प्याड तथा लामखुट्टेको झुललगायत सामग्री प्रत्यक्ष रूपमा उपलब्ध गराइएको छ।

देविघाटमा विद्यालय भवनलाई अस्थायी होल्डिङ सेन्टरका रूपमा प्रयोग गरिँदा विद्यार्थीको नियमित पठनपाठन प्रभावित भएको अवस्थालाई ध्यानमा राख्दै प्रभावित परिवारलाई सकेसम्म छिटो सामान्य जीवनमा फर्काउन आवश्यक सामग्री उपलब्ध गराइएको फाउन्डेसनले जनाएको छ। मागका आधारमा २०० घरधुरीलाई ग्यास चुलो सेटसमेत वितरण गरिएको छ।

राहत सामग्रीको व्यवस्थापन, स्थानीय तहसँगको समन्वय तथा प्रभावित परिवारसम्म सामग्री पुर्‍याएर प्रत्यक्ष वितरण गर्ने कार्यमा जीयू फाउन्डेसनले नेतृत्व गरिरहेको छ। रसुवामा गरिएको राहत सहयोग भने काठमाडौं विश्वविद्यालयको एकेडेमिया–इन्डस्ट्री कोअर्डिनेसनको समन्वयमा उपलब्ध गराइएको फाउन्डेसनले जनाएको छ।

अब नुवाकोटको सूर्यगढी गाउँपालिकाका थप २०० घरधुरीलाई आवश्यक राहत तथा आपत्कालीन सामग्री वितरण गर्ने कार्यक्रम रहेको छ। उक्त कार्यक्रम सम्पन्न भएपछि पहिलो चरणमा निर्धारित १ हजार २५० घरधुरीसम्म राहत पुर्‍याउने लक्ष्य पूरा हुने फाउन्डेसनले जनाएको छ।

जीयू फाउन्डेसनले राहत अभियानलाई तत्कालीन सहयोगमा मात्र सीमित नराखी प्रभावित परिवारलाई सकेसम्म छिटो सामान्य जीवनमा फर्काउन सहयोग गर्ने उद्देश्य लिएको जनाएको छ। विद्युत्, खाना पकाउने सुविधा, खाद्यान्न तथा दैनिक जीवनका अन्य अत्यावश्यक सामग्रीको अभावलाई ध्यानमा राखेर राहत सामग्री छनोट गरिएको फाउन्डेसनको भनाइ छ।

पहिलो चरणको राहत कार्यक्रम सम्पन्न भएपछि दोस्रो चरणमा दीर्घकालीन पुनःस्थापनामा केन्द्रित सहयोग अभियान सञ्चालन गर्ने तयारीसमेत फाउन्डेसनले गरेको छ। दोस्रो चरणमा शिक्षा, स्वास्थ्य तथा पुनर्वासका क्षेत्रमा आवश्यक सहयोग र सहकार्य गर्दै प्रभावित समुदायलाई सामान्य जीवनमा फर्कने वातावरण निर्माणमा योगदान पुर्‍याउने योजना रहेको जनाइएको छ।

प्रभावित समुदायको वास्तविक आवश्यकता पहिचान गरी स्थानीय तह, सम्बन्धित निकाय तथा साझेदार संस्थासँगको समन्वयमा प्राथमिकताका आधारमा दोस्रो चरणका कार्यक्रम अघि बढाइने जीयू फाउन्डेसनले जनाएको छ।