ब्युटी न्युज नेपाल
काठमाडौं, २१ भदौ
मदन पुरस्कार गुठीले २०८२ सालको मदन पुरस्कार लेखिका वीणा जोशी (राजभण्डारी)को ‘नेवार समुदायका परम्परागत मुकुन्डोनाच’ कृतिलाई प्रदान गर्ने निर्णय गरेको छ। यस्तै, करिब छ दशकदेखि नेपाली गीत लेखनमा सक्रिय गीतकार किरण खरेललाई यस वर्षको जगदम्बा–श्री पुरस्कार प्रदान गरिने भएको छ।
गुठीका अनुसार नेवार समुदायमा प्रचलित परम्परागत मुकुन्डोनाचको संकलन, अनुसन्धान तथा अभिलेखीकरणमा महत्वपूर्ण योगदान पुर्याएकाले जोशीको कृति छनोट गरिएको हो। करिब १४ सय पृष्ठको उक्त पुस्तकमा मुकुन्डोनाचको इतिहास, सांस्कृतिक पक्ष र विभिन्न नृत्य परम्पराको विस्तृत अध्ययन समेटिएको छ।
खरेलले १९ वर्षको उमेरदेखि गीत लेखन सुरु गरेका हुन्। उनले करिब सात सय गीत लेख्नुका साथै एक सयभन्दा बढी चलचित्रका लागि गीत सिर्जना गरेका छन्। ‘ए दूरका सितारा’, ‘के हो तिम्रो नाउँ’, ‘मेरी पारु’ र ‘प्रियतमा’ उनका चर्चित कृतिमध्ये हुन्। यस वर्ष मदन पुरस्कारका लागि २९८ पुस्तक प्राप्त भएकामा १० कृति श्रेष्ठ सूचीमा परेका थिए।






