‘फेस अफ नेपाल–२०२६’को ग्रान्ड फिनाले आज


ब्युटी न्युज नेपाल
काठमाडौँ, २१ भदौ

सौन्दर्य रियालिटी शो ‘फेस अफ नेपाल–२०२६’को ग्रान्ड फिनाले आज ललितपुरको होटल तुलिपमा गरिँदैछ । गत १४ भदौमा गर्ने भनिएको यो कार्यक्रम भोटेकोशीमा आएको बाढीले देशमा उत्पन्न विपद्को अवस्थालाई मध्यनजर गर्दै स्थगित गरिएको थियो ।

फिनाले ग्वार्कोस्थित रोयल टुलिपमा बेलुका आज आइतबार ५ बजे सुरु हुनेछ । सम्पूर्ण तयारी पुरा भएको आयोजक मेनुका माझीले बताएकी छिन् । आयोजक मेनुकाका अनुसार फिनालेका लागि कुल १९ जना प्रतियोगी प्रतिस्पर्धामा छन् । जसमा ८ जना महिला र ११ जना पुरुष प्रतियोगी रहेका छन् ।

फिनालेको निर्णायक मण्डलमा एसिया मोडल फेस्टिभलका अध्यक्ष याङ युई सिङ, फेस अफ नेपाल–२०२१ तथा अभिनेत्री, मोडल नीति शाह, राष्ट्रिय निर्देशक मेनुका माझी, फेस अफ नेपाल–२०२४ का हिमाञ्चल राज केसी, भ्यालेन्टिनो बुटिकका सञ्चालक सुकनीता चौलागाईं र नेपालका लागि कोस्टारिका गणराज्यका मानार्थ वाणिज्यदूत मनीष थापा रहेका छन् ।

याङ युई सिङ कोरियान फेसन शोका परिचित अनुहार हुन् । उनी यो शोको ग्रान्ड फिनालेका लागि नेपाल आइसकेका छन् । फेस अफ नेपाल–२०२६ अन्तर्राष्ट्रिय प्रतिष्ठित एसिया मोडल फेस्टिभल, दक्षिण कोरियाको नेपालको आधिकारिक फ्रेन्चाइजका रूपमा सञ्चालन हुँदै आएको प्रतियोगिता हो ।