ब्युटी न्युज नेपाल
काठमाडौँ, १९ भदौ
भदौ २६ गतेदेखि देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘अक्षरा’को निर्माण टिमले प्रचारप्रसारलाई तीव्रता दिएको छ। प्रदर्शनको एक साता मात्र बाँकी रहँदा निर्माण पक्ष फिल्मको प्रचार अभियानमा सक्रिय भएको हो।
कृष्ण जन्माष्टमीको अवसर पारेर शुक्रबार काठमाडौँको बौद्ध क्षेत्रमा फिल्मका कलाकार तथा निर्माण टिमले रथयात्रा आयोजना गरेका छन्। रथयात्रामा फिल्मका मुख्य कलाकार सुशील सिटौला, पुष्कर राउत, निर्देशक विनयराज पौडेल तथा निर्माता लगायतको सहभागिता रहेको थियो।
फिल्म प्रदर्शनको मिति नजिकिएसँगै प्रचारप्रसारलाई अगाडि बढाइएको निर्देशक पौडेलले बताए। उनले भने, “फिल्मको प्रदर्शन नजिकिँदै गर्दा अब प्रचारप्रसारको कामलाई अगाडि बढाउन थालेका हौँ। फिल्म चल्ने दिन आइसक्यो, प्रचारप्रसार पनि गर्नैप¥यो।”
गत १० भदौमा रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपहिरोका कारण निर्माण टिमले केही समय फिल्मको प्रचारप्रसारका कार्यक्रम स्थगित गरेको थियो। विपद्का कारण देश शोकमा रहेका बेला प्रचारप्रसारभन्दा राहत तथा मानवीय सहयोगलाई प्राथमिकता दिएको निर्माण पक्षले जनाएको छ।
फिल्मकी अभिनेत्री न्यान्सी खड्काले पनि बिहीबार नुवाकोटका विभिन्न बाढी प्रभावित क्षेत्रमा पुगेर पीडित परिवारलाई राहत सामग्री वितरण गरेकी थिइन्। सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै राहत अभियानमा सहभागी भएपछि अब निर्माण टिम पुनः फिल्मको प्रचारप्रसारमा फर्किएको हो।
विनयराज पौडेलको निर्देशनमा बनेको ‘अक्षरा’मा न्यान्सी खड्कासँगै सुशील सिटौला, सुशील पोखरेल, उत्तम केसी, अंशु महर्जन, पुष्कर राउत, रिस्ता अधिकारी, सृष्टि खड्का, गीता अधिकारी लगायतका कलाकारको अभिनय छ।
दिपेन बस्न्यातको छायांकन रहेको फिल्मलाई गौतम खड्काले सम्पादन गरेका हुन्। क्षित बाबु प्रोडक्सन हाउसको ब्यानरमा निर्माण भएको फिल्मकी प्रस्तुतकर्ता सोनी थापा हुन् भने उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गाना निर्माता रहेका छन्।
फिल्मले पारिवारिक तथा सामाजिक विषयवस्तुलाई प्रस्तुत गरेको निर्माण पक्षले जनाएको छ। ‘अक्षरा’ भदौ २६ गतेदेखि नेपालभरका हलमा प्रदर्शनमा आउने तयारीमा छ।






