भोटेकोशी बाढीमा ज्यान गुमाउनेको सम्मानमा भदौ २२ गते राष्ट्रिय शोक मनाउने


ब्युटी न्युज नेपाल
काठमाडौँ, १८ भदौ

गत १० भदौमा रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट ज्यान गुमाउनेहरूको सम्मानमा सरकारले भदौ २२ गते राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ। बाढीबाट मृत्यु हुनेको संख्या बिहीबार बिहानसम्म १ हजार २०४ पुगेको जनाइएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बाढीमा ज्यान गुमाउनेहरूको सम्मानमा घटना भएको १३औँ दिन अर्थात् भदौ २२ गते सोमबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो।

राष्ट्रिय शोकका दिन नेपालभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइनेछ। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद्को निर्णयबारे जानकारी दिँदै उक्त दिन राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय भएको बताए।

मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ, ‘रसुवाको भोटेकोसी नदीमा आएको अकल्पनीय भीषण बाढीका कारण मृत्युवरण गर्ने व्यक्तिहरूको सम्मानस्वरूप उक्त घटना भएको १३औँ दिनको पुण्यतिथिको दिन अर्थात् भदौ २२ गते सोमबार राष्ट्रिय शोक मनाउने।’

भोटेकोशी नदीमा आएको अकल्पनीय बाढीका कारण रसुवामा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ। बाढीले जलविद्युत आयोजना, सडक, पुललगायतका संरचनामा समेत व्यापक क्षति पुर्‍याएको छ।

बाढीपछि बेपत्ता भएका तथा प्रभावितको खोजी र उद्धार कार्य अझै जारी छ। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीसहित विभिन्न सरकारी निकायका टोली प्रभावित क्षेत्रमा परिचालन भएका छन्। विशेषगरी क्षतिग्रस्त जलविद्युत आयोजनाका सुरुङ तथा संरचनामा फसेको आशंका गरिएका व्यक्तिको खोजी कार्यलाई प्राथमिकता दिइएको छ। सरकारले बाढीबाट प्रभावित तथा पीडित परिवारलाई राहत, उद्धार र पुनःस्थापनाको कामलाई समेत अघि बढाइरहेको जनाएको छ।