आयना बनिन् ‘जुनियर सुपरमोडेल इन्टरनेशनल नेपाल’ की विजेता


ब्युटी न्युज नेपाल
काठमाडौँ, १४ भदौ

सामरी इन्टरनेशनलको आयोजनामा सम्पन्न ‘जुनियर सुपरमोडेल इन्टरनेशनल नेपाल २०२६’को मुख्य उपाधि आयना राईले जितेकी छन् । काठमाडौंस्थित राष्ट्रिय नाचघरमा शनिबार आयोजित भव्य ग्रान्ड फिनालेमा २३ जना बाल प्रतिभालाई पछि पार्दै आयनाले उपाधि हात पारेकी हुन् ।

प्रतियोगितामा एन्जेलिना राई प्रथम रनरअप, अनन्या पुरी द्वितीय रनरअप, अनमोल परियार तृतीय रनरअप, युबिया महर्जन चौथो रनरअप र बिद्या खत्री पाँचौँ रनरअप घोषित भए ।

विशेष उपाधितर्फ एन्जेलिना राईले ‘पब्लिक च्वाइस विनर’, अंशु भण्डारीले ‘भ्यूअर्स च्वाइस विनर’ तथा जिनियस प्रसाईंले ‘म्यानेजमेन्ट च्वाइस विनर’को उपाधि प्राप्त गरे ।

‘जहाँ आत्मविश्वासले प्रतिभालाई भेट्छ, र सपनाले मञ्च पाउँछ’ भन्ने मूल भावनासहित आयोजित प्रतियोगितामा सहभागी बालबालिकाले परिचय राउन्ड, डिजाइनर वेयर, प्रश्नोत्तर, प्रतिभा प्रदर्शन तथा विभिन्न सांस्कृतिक प्रस्तुतिमार्फत आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।

कार्यक्रममा नेपाली सांगीतिक क्षेत्रमा लामो समयदेखि योगदान पुर्‍याउँदै आएकी चर्चित गायिका ज्ञानु राणालाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’बाट सम्मान गरिएको थियो । कार्यक्रममा उनको प्रमुख आतिथ्यता रहेको थियो ।

त्यस्तै विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका कृष्णप्रसाद पाण्डे, रीना श्रेष्ठ, नीलम पौडेल, विजय शाही, अर्जुन कार्की, अनमोल भगत, अर्शु महर्जन, रोजिन शाक्य, राज कार्की, शेखर वाग्ले, आगन पार्टी भेन्यु एन्ड रेस्टुरेन्ट तथा फेसन डिजाइनर दिलमाया मगरलाई ‘नेपाल एक्सेलेन्सी अवार्ड’बाट सम्मान गरिएको थियो ।

सामरी इन्टरनेशनल इभेन्ट प्रालिका प्रमुख कार्यकारी अधिकृत भरत सामरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपालको पहिलो सेफ गोविन्द नरसिंह केसी र गायक तथा रेडियो नेपालका पूर्व निर्देशक सीताराम पोखरेलको विशेष आतिथ्यता रहेको थियो ।

प्रतियोगिताको निर्णायक मण्डलमा रोजी श्रेष्ठ (सुमित्रा), बिपिशा भट्टराई, नीलम पौडेल र विजय शाही रहेका थिए । कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्व, अभिभावक तथा सञ्चारकर्मीको उल्लेख्य उपस्थिति रहेको थियो ।

आयोजकका प्रमुख कार्यकारी अधिकृत भरत सामरीले प्रतियोगिताले बालबालिका तथा युवा प्रतिभालाई आफ्नो क्षमता प्रस्तुत गर्न, आत्मविश्वास बढाउन र भविष्यका लागि नयाँ अवसर सिर्जना गर्न महत्वपूर्ण मञ्च प्रदान गरेको बताए । आयोजकले सम्पूर्ण विजेता, प्रतियोगी, सम्मानित व्यक्तित्व, निर्णायक, अभिभावक, सञ्चारकर्मी, सहयोगी तथा शुभेच्छुकप्रति आभार व्यक्त गरेको छ ।