त्रिशूली–३ ‘ए’को सुरुङमा उद्धार प्रयास जारी, रातभर स्काभेटर चलाउँदै सेना


ब्युटी न्युज नेपाल
काठमाडौँ, १४ भदौ

रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढी र पहिरोका कारण नुवाकोटस्थित माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाका संरचना पुरिएपछि सुरुङभित्र मानिस फसेको आशंकामा नेपाली सेनाको नेतृत्वमा उद्धार प्रयास जारी छ। आइतबार रातिसम्म आयोजनास्थलमा स्काभेटर प्रयोग गरी माटो र गेग्रान हटाउने काम भइरहेको छ। आइतबार रातभर सो क्षेत्रमा स्काभेटरबाट खान्ने काम भएको छ । यो समाचार तयार गर्दा रातको १२ः४५ बजे नेपाली सेनाले निरन्तर खनिरहेका छन् ।

बाढीपहिरोका कारण आयोजनास्थलसम्म पुग्ने सडक तथा स्थलमार्गको सम्पर्क विच्छेद भएपछि नेपाली सेनाले हेलिकप्टरमार्फत स्काभेटर र प्राविधिक टोली आयोजनास्थलमा पुर्‍याएको थियो। त्यसपछि पुरिएका संरचना तथा सुरुङसम्म पुग्ने बाटो खोल्न निरन्तर काम भइरहेको छ।

१० देखि १२ मिटर गहिराइमा सुरुङ

उद्धार टोलीले जमिनको सतहबाट करिब १० देखि १२ मिटर गहिराइमा रहेको सुरुङको माथिल्लो भाग (क्राउन हेड)**लाई केन्द्रित गरेर खनिरहेको छ। सुरुङको माथिल्लो भागसम्म पुगेर मानिस प्रवेश गर्न सक्ने प्वाल बनाउने उद्देश्यले तीनवटा स्काभेटर परिचालन गरिएको छ।

उद्धारमा प्रयोग गरिएका स्काभेटरमध्ये यसअघि बाढीका कारण खोलामा खसेको एउटा स्काभेटरसमेत निकालेर पुनः उद्धार कार्यमा प्रयोग गरिएको जनाइएको छ।

३०–४० मिटर क्षेत्रको गेग्रान हटाउनुपर्ने

प्राविधिक टोलीका अनुसार सुरुङसम्म सुरक्षित रूपमा पुग्न त्यस क्षेत्रबाट पानी बग्ने व्यवस्था मिलाउँदै करिब ३० देखि ४० मिटर चौडाइमा रहेको माटो र गेग्रान हटाउनुपर्ने अवस्था छ। त्यसपछि मात्रै सुरुङभित्र मानिस प्रवेश गर्न सक्ने अवस्था बन्नेछ।

तीनवटै स्काभेटरले लगातार काम गरिरहेका कारण सुरुङको मुख्य भागसम्म पुग्न अझै करिब ६ देखि ७ घण्टा लाग्न सक्ने प्राविधिकहरूको अनुमान छ। त्यसैले नेपाली सेना तथा उद्धार टोलीले रातभर नै खन्ने र बाटो खोल्ने कामलाई निरन्तरता दिएको छ।

आयोजनास्थलमा मानिस फसेको हुनसक्ने आशंकामा उद्धार टोलीले सम्भावित सबै स्थानमा खोजी केन्द्रित गरेको छ। प्रतिकूल मौसम र बाढीपहिरोका कारण चुनौतीपूर्ण बनेको उद्धार कार्यमा प्राविधिक टोली तथा सुरक्षाकर्मी निरन्तर परिचालित छन्।