ब्युटी न्युज नेपाल
काठमाडौँ, १४ भदौ
भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीपछि सरकारले खोज तथा उद्धारलाई तीव्र बनाएको छ। प्रतिकूल मौसम र विकट भौगोलिक अवस्थाबीच हालसम्म ९ हजार ४३५ जनाको हवाई तथा स्थलमार्गबाट उद्धार गरी सुरक्षित स्थानमा पुर्याइएको सरकारले जनाएको छ।
राहत तथा उद्धारका लागि आइतबार मात्रै थप ७२ उडानसहित हालसम्म ३९४ उडान सञ्चालन गरिएको छ। प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका गरी २० हजार ६१८ सुरक्षाकर्मी परिचालन गरिएको छ। उद्धार तथा राहत कार्यमा स्वयंसेवकहरू पनि सक्रिय रहेको सरकारले जनाएको छ।
जलविद्युत् आयोजना क्षेत्रबाट २७९ जनाको उद्धार
बाढीबाट प्रभावित जलविद्युत् आयोजना क्षेत्रमा फसेका मानिसको उद्धारलाई विशेष प्राथमिकता दिइएको छ। नेपाली सेनाको हेलिकप्टरमार्फत हालसम्म आयोजना क्षेत्रबाट २७९ जनाको उद्धार गरिएको छ।
रसुवास्थित माथिल्लो त्रिशूली–१ आयोजना आसपासबाट मात्रै दुई दिनमा २५० जनाको उद्धार गरिएको छ। यस क्षेत्रमा चिनियाँ र कोरियन विशेषज्ञ टोलीले नेपाली सेनासँग समन्वय गरी खोजी तथा उद्धार गरिरहेका छन्। चिनियाँ विशेषज्ञ टोलीले सुरुङभित्र करिब तीन किलोमिटरसम्म खोजी गरे पनि हालसम्म मानिस फेला पार्न नसकेको जनाइएको छ।
त्रिशूली–३ ‘ए’ को सुरुङमा ब्लास्टिङबाट उद्धार प्रयास
नुवाकोटस्थित माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका हुन सक्ने व्यक्तिको खोजीका लागि उद्धार टोलीले निरन्तर काम गरिरहेको छ। नेपाली सेनाका इन्जिनियरहरूले सुरुङमा प्रवेश गर्ने बाटो बनाउन ब्लास्टिङको काम अघि बढाएका छन्।
नेपाली सेना, तालिमप्राप्त कुकुरसहितको सशस्त्र प्रहरी र नेपाल प्रहरीका विशेषज्ञसहित ९० जनाको संयुक्त टोली घटनास्थलमा परिचालन गरिएको छ। टोलीले आइतबार सुरुङको मुख्य भागमा पुगेर दुई फिट चौडाइ र तीन फिट उचाइको प्वाल बनाएर भित्र प्रवेश गर्ने प्रयास गरेको थियो।
डोरीको सहायताले सुरुङभित्र पुगेर बोलाउँदा कुनै प्रतिक्रिया नआएपछि ठूला उपकरण प्रयोग, ब्लास्टिङ तथा प्वाल फराकिलो बनाउने काम एकसाथ अघि बढाइएको छ।
त्रिशूली–३ ‘बी’ मा पनि खोजी जारी
नुवाकोटकै माथिल्लो त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनामा पनि उद्धार प्रयास जारी छ। भैरवनाथ गण र नेपाल विद्युत् प्राधिकरणको संयुक्त टोलीले खोज तथा उद्धार गरिरहेको छ। यस क्षेत्रमा चिनियाँ विशेषज्ञ टोलीले नेपाली सेनासँग समन्वय गरी प्राविधिक सहयोग गरिरहेको छ।
चिलिमे र लाङटाङमा पम्प र एस्काभेटर प्रयोग
रसुवाको चिलिमे जलविद्युत् आयोजनामा नेपाली सेनासँगको समन्वयमा भारतीय विशेषज्ञ टोलीले रेकी गरेको छ। टोलीले पम्प र एस्काभेटर प्रयोग गरी खोज तथा उद्धारको काम अघि बढाएको छ।
लाङटाङ खोला जलविद्युत् आयोजनामा नेपाली सेनाले खोज तथा उद्धार गस्ती गरिरहेको छ। भारतीय टोलीले समेत रेकी गरी पम्प र एस्काभेटर परिचालन गरेर थप उद्धार कार्य सुरु गरेको छ।
यस्तै, रसुवाकै मैलुङ खोला जलविद्युत् आयोजनामा कोरियन विशेषज्ञ टोलीले नेपाली सेनासँग समन्वय गरी हवाई रेकी गरेको छ। रेकीपछि आयोजनास्थलमा खोज तथा उद्धारको कामसमेत सुरु भइसकेको सरकारले जनाएको छ।






