भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ५४७ पुग्यो


ब्युटी न्युज नेपाल
काठमाडौँ, १२ भदौ

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या शुक्रबार दिउँसो ३ बजेसम्म ५४७ पुगेको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार बाढीले बगाएका तथा विभिन्न स्थानमा फेला परेका शवहरू संकलन गर्ने कार्य अझै जारी छ।

प्रहरीका अनुसार रसुवामा १३, नुवाकोटमा ३८, धादिङमा ४०, चितवनमा सबैभन्दा बढी २२१, गोरखामा ४४, तनहुँमा २९, नवलपरासी पूर्वमा १३४ र नवलपरासी पश्चिममा २८ जनाको शव फेला परेको छ।

बाढी प्रभावित क्षेत्रबाट घाइते तथा जोखिममा परेका गरी हालसम्म १ हजार ४७३ जनाको उद्धार गरिएको नेपाल प्रहरीले जनाएको छ। उद्धार गरिएकामध्ये काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा उपचाररत तथा उपचारपछि डिस्चार्ज भएकाको संख्या ९४ पुगेको छ।

बाढीका कारण सम्पर्कविहीन भएका २८ जना प्रहरी कर्मचारीमध्ये एक जनाको शव फेला परेको छ भने अन्यको खोजी जारी रहेको प्रहरीले जनाएको छ। खोज तथा उद्धार कार्यलाई तीव्र बनाउन ४ हजार ४७३ जना प्रहरी कर्मचारी परिचालन गरिएको छ।

यसैबीच, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उद्धार र खोजीको समग्र विवरण अद्यावधिक गरिरहेको जनाएको छ। विभिन्न नदी किनार र तटीय क्षेत्रमा थप शव भेटिन सक्ने भएकाले मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।