ब्युटी न्युज नेपाल
काठमाडौँ, १२ भदौ
तिब्बती क्षेत्रमा पुनः ताल फुटेको सूचना आएको छ । सो सुचना चिनले दिएको हो । यति बेला भोटेकोशीमा लेदो पानी आउने क्रम बढेको छ । सो ताल फुटेको सूचना आएपछि रसुवाको भोटेकोशी तथा त्रिशूली नदी तटीय क्षेत्रमा बाढीको जोखिम बढेको भन्दै नेपाल प्रहरीले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। उद्धार तथा राहत कार्यमा खटिएका सुरक्षाकर्मीदेखि नदी किनारमा रहेका सर्वसाधारणसम्मलाई सम्भावित जोखिमलाई गम्भीरतापूर्वक लिन आग्रह गरिएको छ।
रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारका अनुसार चिनियाँ पक्षबाट माथिल्लो क्षेत्रमा थुनिएको ताल फुटेको सूचना प्राप्त भएको छ। उनले नदी तटीय क्षेत्रका नागरिकलाई सतर्क रहन सर्कुलर जारी गरिसकिएको जानकारी दिएका छन्। प्राप्त सूचनाअनुसार चीनको छोचेन खोला र पुरेपु त्साङ्पो नदीको संगम आसपास बनेको ठूलो ताल फुटेको हो। छोचेन खोला र पुरेपु नदी त्रिशूली नदी प्रणालीका माथिल्ला सहायक नदीका रूपमा चिनिन्छन्।
नदीमा लेदोसहित पानीको बहाव बढेको सूचना
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि १० भदौमा ठूलो बाढी आएको भोटेकोशी क्षेत्रमा पुनः लेदोसहित पानीको बहाव बढेको सूचना प्राप्त भएको जनाएको छ। थप बाढी आउन सक्ने जोखिम रहेको भन्दै नदी किनारमा रहेका तथा उद्धार र राहत कार्यमा खटिएका सबैलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।
प्राधिकरणका प्रवक्ता तथा उपसचिव शान्ति महतले शुक्रबार जारी गरेको सूचनामार्फत जोखिमको अवस्था देखिए तत्काल सुरक्षित स्थानतर्फ जान अनुरोध गरेकी छन्। नदीको बहावमा आउने परिवर्तनलाई गम्भीरतापूर्वक लिन र जोखिमयुक्त क्षेत्रमा अनावश्यक रूपमा नबस्नसमेत आग्रह गरिएको छ।
त्रासमा तटीय बासिन्दा
ताल फुटेको र नदीमा पानीको बहाव बढ्न सक्ने सूचना फैलिएसँगै भोटेकोशी तथा त्रिशूली नदी किनार आसपासका बासिन्दा सुरक्षित स्थानतर्फ जान थालेका छन्। कतिपय स्थानीय पाखा र जंगलतर्फ समेत सरेका छन्।नेपाल प्रहरी, जिल्ला प्रशासन कार्यालय तथा विपद् व्यवस्थापनसम्बन्धी निकायहरूले सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै सबै नागरिकलाई सतर्क रहन र आधिकारिक सूचनाको पालना गर्न आग्रह गरेका छन्।






