भोटेकोशी बाढी : हालसम्म आठ जनाको शव भेटियो


ब्युटी न्युज नेपाल
काठमाडौँ, १० भदौ

रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीमा परी हालसम्म आठ जनाको शव फेला परेको छ। बागमती प्रदेश प्रहरी प्रमुख दीपक रेग्मीका अनुसार हालसम्म नुवाकोट र धादिङमा गरेर ८ जनाको सव फेला परेको हो । जसमध्ये त्रिशुली नदी किनार नुवाकोटमा ४ जना र त्रिशुली नदी किनार धादिङमा ४ जनाको शव फेला परेको हो ।

नेपाल–चीन सीमावर्ती क्षेत्रबाट अचानक आएको बाढीले रसुवाका टिमुरे र स्याफ्रुबेसीसहितका बस्ती तथा पूर्वाधारमा ठूलो क्षति पुर्‍याएको छ। बाढी त्रिशूली नदी हुँदै नुवाकोट, धादिङ र चितवनतर्फ पुगेपछि नदीतटीय क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ।

प्रारम्भिक विवरणअनुसार आठ जनाको मृत्यु भएको पुष्टि भएको छ। यद्यपि शवहरू कहाँ–कहाँबाट फेला परेका हुन् भन्ने विस्तृत आधिकारिक विवरण सबै निकायबाट एकीकृत रूपमा सार्वजनिक हुन बाँकी छ। प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली परिचालित भई बेपत्ता व्यक्तिको खोजी तथा उद्धार कार्य जारी राखेको छ। उद्धारमा कठिनाइ भइरहेकाले मृतक र बेपत्ताको संख्या परिवर्तन हुन सक्ने अधिकारीहरूले जनाएका छन्।

बाढीमा सुरक्षाकर्मीसहित अन्य व्यक्तिहरू सम्पर्कविहीन रहेको समाचार सार्वजनिक भइरहेका छन्। प्रभावित क्षेत्रको पछिल्लो अवस्थाबारे प्रधानमन्त्री कार्यालयमा समेत छलफल भएको छ भने पाँच जिल्लाका प्रतिनिधिहरूसँग उद्धार, राहत तथा पुनःस्थापनाका विषयमा समन्वय भइरहेको छ।

रसुवा प्रशासनले टिमुरे, स्याफ्रुबेसीलगायत क्षेत्रमा बाढीले पुर्‍याएको मानवीय तथा भौतिक क्षतिको विवरण संकलन गरिरहेको छ। नुवाकोट, धादिङ र चितवनका त्रिशूली तथा नारायणी नदी किनारका बस्तीमा पनि सतर्कता बढाइएको छ। जल तथा मौसम विज्ञान विभागले बाढीको प्रभाव तलतर्फ बढ्न सक्ने भन्दै नदी किनारका बासिन्दालाई सावधानी अपनाउन आग्रह गरेको छ। खोजी तथा उद्धार कार्य जारी रहेकाले शव भेटिने स्थान, मृतकको पहिचान र बेपत्ता व्यक्तिको यकिन विवरण आगामी समयमै थप अद्यावधिक हुने जनाइएको छ।