ब्युटी न्युज नेपाल
काठमाडौँ, ७ भदौ
हाउस अफ फेसन नेपालले विवाहित महिलाहरूको व्यक्तित्व, आत्मविश्वास, नेतृत्व क्षमता तथा व्यावसायिक सम्भावनालाई उजागर गर्ने उद्देश्यसहित ‘मिसेस भोग नेपाल सिजन–४’ घोषणा गरेको छ। आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत आगामी जनवरीमा ग्रान्ड फिनाले आयोजना गर्ने जानकारी दिइएको हो।
यसै अवसरमा ‘मिसेस भोग नेपाल सिजन–३’ की विजेता प्रतिक्षा थापालाई अन्तर्राष्ट्रिय प्रतियोगितामा प्राप्त सफलताका लागि बधाई तथा सम्मान गरिएको छ। थापाले म्यानमारमा सम्पन्न ‘मिसेस ग्रान्ड इन्टरनेसनल म्यानमार २०२६’ मा नेपालको प्रतिनिधित्व गर्दै ‘मिसेस ग्रान्ड ग्लोबल वुमन २०२६’ को उपाधि जितेकी हुन्। उनले ‘मिसेस ग्ल्यामर’ सब–टाइटलसमेत आफ्नो नाममा पारिन्।
प्रतियोगितामा नेपालको राष्ट्रिय निर्देशकका रूपमा सहभागी हाउस अफ फेसन नेपालकी निर्देशक ओशिमा बानुले पनि ‘बेस्ट नेसनल डाइरेक्टर अवार्ड’ प्राप्त गरेकी छन्। अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रभावकारी प्रतिनिधित्व तथा योगदानको कदरस्वरूप उनलाई उक्त सम्मान प्रदान गरिएको जनाइएको छ।
पत्रकार सम्मेलनमा थापा र बानुले आफ्नो अन्तर्राष्ट्रिय यात्राका अनुभव तथा सफलताको कथा सञ्चारकर्मीसँग साझा गरे। थापाले आफ्नो मेहनत र संस्थाबाट प्राप्त व्यावसायिक प्रशिक्षण सफलताको प्रमुख आधार रहेको बताइन्।
‘मुकुटभन्दा पर, उपाधिभन्दा ठूलो एउटा यात्रा’ भन्ने अवधारणासहित आयोजना हुने सिजन–४ को अडिसन पूर्ण रूपमा अनलाइनमार्फत सञ्चालन हुनेछ। नेपाल तथा विदेशमा रहेका इच्छुक विवाहित महिलाले डिजिटल माध्यमबाट आवेदन दिन सक्नेछन्।
प्रतियोगितामा सहभागीलाई व्यक्तित्व विकास, सञ्चार क्षमता, स्टेज प्रेजेन्स, नेतृत्व तथा व्यावसायिक ग्रुमिङसम्बन्धी प्रशिक्षण प्रदान गरिने आयोजकले जनाएको छ। विजेताहरूले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्ने अवसरसँगै नगद पाँच लाख रुपैयाँसम्मका उपहार तथा विभिन्न अवसर प्राप्त गर्नेछन्।






