१९ औँ मिस नेवाः नेपाल बनिन पाटनकी तिशा शाक्या


ब्युटी न्युज नेपाल
काठमाडौँ, ७ भदौ

१९औँ संस्करणको ‘मिस नेवाः नेपाल ११४६’ को उपाधि ललितपुरको पाटनकी तिशा शाक्यले जितेकी छन्। फाइट फर लाइफ नेपाल र नेप्लिज फेसन होमको आयोजनामा कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा सम्पन्न प्रतियोगितामा १६ जना प्रतिस्पर्धीलाई पछि पार्दै उनले मुख्य उपाधि आफ्नो नाममा लेखाएकी हुन्।

मिस नेवाः नेपाल ११४६ की विजेता तिशाले मुख्य ताजसँगै नगद एक लाख रुपैयाँ प्राप्त गरिन्। उनले गोदावरी नगरपालिका बेस्ट नेपालभाषाको उपाधिसमेत जित्दै थप १० हजार रुपैयाँ पुरस्कार हात पारिन्। प्रतियोगितामा सारिका महर्जन फस्ट रनर्सअप र जेसिका श्रेष्ठ सेकेन्ड रनर्सअप घोषित भए। सारिकाले ५० हजार तथा जेसिकाले २५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे।

काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख तथा पूर्व मिस नेवाः नेपाल सुनिता डंगोलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विभिन्न प्रतिभा तथा व्यक्तित्वसम्बन्धी उपाधि पनि प्रदान गरियो। सबनम शाक्य मिस ट्यालेन्ट घोषित भइन् भने हिमानी प्रधान र करुणा चक्रधर क्रमशः फस्ट र सेकेन्ड रनर्सअप बने।

कार्यक्रममा दुर्गा देउला मिस डिसिप्लिन, हिमानी प्रधान मिस पब्लिक च्वाइस तथा प्रिस्टिन अवाले बेस्ट ड्रेस घोषित भए। शिक्षा महर्जनले मिस कल्चर, निश्ला महर्जनले मिस पर्सनालिटी, कलशा अवालेले बेस्ट हेयर तथा दृष्टि महर्जनले बेस्ट स्किनको उपाधि जितिन्।

फेसन डिजाइनर ज्ञानी शोभा तुलाधर प्रमुख निर्णायक रहेको प्रतियोगिता नेवा समुदायको भाषा, कला, संस्कृति तथा सामाजिक चेतनाको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको हो। प्रतियोगिताको कोरियोग्राफी तथा कार्यक्रम सञ्चालन रोजिन शाक्यले गरेका थिए।