रिता तामाङले जितिन् ‘मिसेस ब्युटिफुल नेपाल’को उपाधि


ब्युटी न्युज नेपाल
काठमाडौँ, ७ भदौ

काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा शनिबार आयोजित ‘मिस एन्ड मिसेस ब्युटिफुल नेपाल’ प्रतियोगितामा रिता तामाङले ‘मिसेस नेपाल’को मुख्य उपाधि जितेकी छन्। उत्कृष्ट प्रस्तुति, प्रतिभा र आत्मविश्वासका साथ प्रतिस्पर्धामा उत्रिएकी तामाङले मुख्य उपाधिसँगै मिसेस फोटोजेनिक, मिसेस ट्यालेन्ट र मिसेस बेस्ट वाक गरी चारवटा उपाधि आफ्नो नाममा पारिन्। प्रतियोगितामा मन्दिरा आचार्य फस्ट रनरअप, गीता बुढाथोकी सेकेन्ड रनरअप, सिर्जना घिमिरे थर्ड रनरअप र रिता कटुवाल फोर्थ रनरअप घोषित भए। सिर्जना घिमिरेले भ्युयर च्वाइस अवार्ड पनि जितिन्।

पेशाले ब्युटिसियन तामाङ काठमाडौंमा आफ्नै ब्युटी पार्लर सञ्चालन गर्दै आएकी छन्। सौन्दर्य व्यवसायमा सक्रिय उनले आफ्नो व्यावसायिक अनुभव, प्रतिभा र आत्मविश्वासलाई प्रतियोगिताको मञ्चमा प्रभावशाली रूपमा प्रस्तुत गर्दै निर्णायकहरूको मन जितेकी हुन्।

उपाधि जितेपछि तामाङले ‘मिसेस नेपाल’को ताजले आफूलाई अत्यन्त खुसी र गौरवान्वित बनाएको बताइन्। यस सफलताले आगामी दिनमा अझ जिम्मेवार हुँदै सौन्दर्य तथा सामाजिक क्षेत्रमा थप सिर्जनात्मक काम गर्ने प्रेरणा मिलेको उनको भनाइ छ।

यसैगरी ‘मिस नेपाल’तर्फ समीक्षा शर्मा विजेता बनिन्। ताराकुमारी दुलाल फस्ट रनरअप, निशा राजबहक सेकेन्ड रनरअप र सञ्जिना चौधरी थर्ड रनरअप घोषित भएका छन्। प्रतियोगिताको आधिकारिक मेकअप आर्टिस्ट क्युट केयरकी चन्दा पुन तथा कोरियोग्राफर अश्विन झा रहेका थिए।

राष्ट्रिय सभा उपाध्यक्ष लिलाकुमारी भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न समारोहमा वरिष्ठ अभिनेता शिव श्रेष्ठ, वरिष्ठ अभिनेत्री तृप्ति नाडकर र वरिष्ठ गायक आनन्द कार्की अतिथिका रूपमा उपस्थित थिए। प्रतियोगिता दक्ष इन्टरनेशनल प्रालिले आयोजना गरेको हो।