‘पेन्सन पट्टा’ आफ्नै समाजको कथा हो : दयाहाङ राई


ब्युटी न्युज नेपाल
पोखरा, ३ भदौ

अभिनेता दयाहाङ राईका लागि चलचित्र ‘पेन्सन पट्टा’ एउटा फिल्म मात्र नभई नेपाली समाजमा लामो समयदेखि देखिँदै आएको जीवनको कथा हो। भदौ २६ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रबारे पोखरामा आयोजित पत्रकार सम्मेलनमा दयाहाङले ‘पेन्सन पट्टा’ले दर्शकलाई आफ्नै जीवन, परिवार र समाजसँग जोड्ने बताए।

चलचित्रमा दयाहाङले निर्वाह गरेको पात्रको कथा लाहुरे परिवारसँग जोडिएको छ। यद्यपि, आफ्नो वास्तविक जीवनमा भने लाहुरे परिवारसँग कुनै पारिवारिक सम्बन्ध नरहेको उनले स्पष्ट पारे। नेपाली समाजमा लाहुरे परिवारका कथा भने आफूले नजिकबाट देखेको उनको भनाइ छ।

“लाहुरेसँग मेरो पारिवारिक सम्बन्ध छैन। तर छिमेक र नेपाली समाजमा लाहुरे परिवारका कथा धेरै छन्,” उनले भने।

दयाहाङका अनुसार ३०–४० वर्षअघिको नेपाली समाजमा ‘पेन्सन पट्टा’को छुट्टै महत्व थियो। भूतपूर्व गोर्खालीहरूले देश र समाजका लागि गरेको योगदानसँग जोडिएको पेन्सन तथा त्यसले परिवारमा पार्ने प्रभाव चलचित्रको कथाको महत्वपूर्ण पक्ष बनेको छ।

तर चलचित्रको कथा पेन्सनमा मात्र सीमित छैन। हराएको पेन्सन पट्टा खोज्ने घटनासँगै प्रेम, भावना, पारिवारिक सम्बन्ध र सामाजिक संरचनाका विभिन्न पक्षलाई चलचित्रले प्रस्तुत गरेको दयाहाङले बताए।

“पेन्सन पट्टा हरेक समाजको कथा हो। यसले भावना, प्रेम र समाजको संरचनालाई बोल्छ। हराएको पेन्सन पट्टा खोज्नु र त्यससँगै समाजको परिवेशलाई प्रस्तुत गर्नु चलचित्रको विशेषता हो,” उनले भने।

फिल्ममा काम गर्ने क्रममा नेपाली समाजलाई अर्को कोणबाट बुझ्ने अवसर पाएको दयाहाङको भनाइ छ। चरित्रमार्फत समाजका विभिन्न मनोविज्ञान बुझ्न पाएको बताउँदै उनले चलचित्रलाई सरल तर गहिरो कथाका रूपमा व्याख्या गरे।

“सिनेमाको चरित्रमार्फत आम नेपाली समाजलाई थोरै भए पनि बुझ्न पाएको छु। ‘पेन्सन पट्टा’ निकै सरल रूपमा प्रस्तुत गरिएको कथा हो। हरेक वर्गका मानिसले बुझ्न सक्छन् र आफ्नो घरको व्यथा महसुस गर्न सक्छन्,” उनले भने।

लेखक तथा निर्देशक माओत्से गुरुङले आमाको पेन्सन प्राप्त गर्न नसक्दा नेपाली समाजका धेरै परिवारले भोगिरहेको समस्यालाई कथाको आधार बनाएका छन्। गोर्खालीको निधनपछि परिवारले पाउनुपर्ने पेन्सन सहज रूपमा प्राप्त गर्न नसक्दा उत्पन्न हुने पारिवारिक समस्या, सम्बन्धको उतारचढाव र सामाजिक परिवेशलाई चलचित्रमा प्रस्तुत गरिएको छ।

“आमाको पेन्सन नमिल्दा समाजका धेरै परिवारमा समस्या छ। त्यसलाई चलचित्रमार्फत प्रस्तुत गर्नुपर्छ जस्तो लाग्यो र कथा बन्यो,” गुरुङले भने, “यो आम समुदायको कथा हो। ‘पेन्सन पट्टा’ तपाईँ–हाम्रै समाजको विषयवस्तु हो।”

चलचित्रमा काम गरेपछि लेखनतर्फ आफ्नो रुचि अझ बढेको दयाहाङले बताए। यद्यपि, तत्काल निर्देशनमा जाने आँट भने नआएको उनको भनाइ छ। “लेखन मन पर्छ, तर आँट्न सकिरहेको छैन। अहिलेलाई काम नै गरौँ भन्ने लाग्छ,” उनले भने।

माओत्से गुरुङको लेखन तथा निर्देशनमा बनेको ‘पेन्सन पट्टा’मा दयाहाङसँगै गौमाया गुरुङ, विल्सन विक्रम राई, बुद्धि तामाङ, स्वर्गीय सुनिल थापा, माया गुरुङ, विश्वास गुरुङ, सोल गुरुङ, मनिका गुरुङ, डिभी गुरुङ र पञ्चसुब्बा गुरुङ ‘दिलु’लगायतका कलाकारको अभिनय रहेको छ। पोखराको ताङतिङ तथा आसपासका क्षेत्रमा छायांकन गरिएको चलचित्र भदौ २६ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ।