सर्वोच्चको आदेशपछि पत्रकार किशोर श्रेष्ठ रिहाई


ब्युटी न्युज नेपाल
काठमाडौँ, १ भदौ

सर्वोच्च अदालतले जनआस्था साप्ताहिकका सम्पादक तथा जनआस्था प्रकाशन प्रालिका अध्यक्ष किशोर श्रेष्ठलाई थुनामुक्त गरी हाजिरी जमानी वा तारिखमा राखेर अनुसन्धान गर्न आदेश दिएको छ। सो आदेशसँगै उनी सोमबार साँझ हिरासतबाट रिहाई भएका छन् । उनलाई समाचार लेखेको प्रकरणमा ६ दिन अघि प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको थियो ।

न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले सोमबार श्रेष्ठकी श्रीमती सरस्वती श्रेष्ठले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै यस्तो आदेश दिएको हो।

अदालतले श्रेष्ठलाई थुनामै राखेर अनुसन्धान गर्नुपर्ने अवस्था नदेखिएको ठहर गरेको छ। समाचारसम्बन्धी गुनासोका लागि प्रेस काउन्सिल नेपालजस्तो नियमनकारी निकाय हुँदाहुँदै प्रहरीले थुनामा राख्नु संविधानको सञ्चारसम्बन्धी हकविपरीत हुने अदालतको निष्कर्ष छ। प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि श्रेष्ठलाई सोमबार साँझ रिहाई गरेको हो ।