ब्युटी न्युज नेपाल
काठमाडौँ, २७ साउन
निर्देशक सौरभ चौधरीको नयाँ चलचित्र ‘द राइज अफ साम्राज्य’मा अभिनेता दयाहाङ राई मुख्य भूमिकामा अनुबन्धित भएका छन्। यसअघि अभिनेता सौगात मल्ललाई मुख्य भूमिकामा अनुबन्ध गरिसकेको निर्माण टिमले दयाहाङलाई पनि जोडेसँगै चलचित्रको कलाकार संयोजन बलियो बनेको छ। चलचित्रको छायांकन आगामी भदौको पहिलो साताबाट सुरु हुनेछ। ७० दिनको छायांकन तालिका तय गरिएको चलचित्रको अधिकांश छायांकन पूर्वी नेपालमा गरिनेछ।
‘लुट’मार्फत नेपाली चलचित्रमा चर्चित बनेका दयाहाङ र सौगात लामो समयदेखि दर्शकले रुचाएका कलाकार हुन्। यी दुई अभिनेता एउटै चलचित्रमा देखिने भएका छन् । दर्शकले निकै रुचाएका यी जोडीको पछिल्लो चलचित्र मितज्यू रिलिज भएको थियो ।
निर्देशक चौधरीले चलचित्रमा दयाहाङ र सौगातसँगै अन्य केही चर्चित कलाकारलाई पनि जोड्ने तयारी भइरहेको बताएका छन्। उनका अनुसार चलचित्रलाई स्तरीय र दर्शकमाझ प्रतीक्षित बनाउन निर्माण टिमले कुनै कसर बाँकी राख्ने छैन।
सौरभ र दयाहाङले पहिलोपटक सहकार्य गर्न लागेका हुन्। निर्देशक चौधरीका अनुसार दयाहाङलाई चलचित्रमा यसअघि देखिँदै आएको भन्दा फरक चरित्रमा प्रस्तुत गरिनेछ।
डार्क हर्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने चलचित्रलाई ‘एपिक एक्सन ड्रामा’का रूपमा तयार गरिँदैछ। उपन्यासकार बुद्धिसागरले चलचित्रको कथा तथा पटकथा लेखेका छन्। निर्देशक चौधरीले यसपटक ठूलो क्यानभासमा एक्सनप्रधान चलचित्र निर्माण गर्ने तयारी गरेका छन्।
प्रवेश चौधरी र निला देव निर्माता रहेको चलचित्रमा विश्वास बस्नेत (बेन) सह–निर्माता तथा शंकर पाण्डे कार्यकारी निर्माता छन्। मानकृष्ण महर्जन डीओपी र श्री श्रेष्ठ एक्सन निर्देशकमा छन्। ओएसआर डिजिटल डिजिटल पार्टनर, टौवा स्टुडियो पब्लिसिटी पार्टनर र डीसीएन वितरकका रूपमा रहनेछन्।



