ब्युटी न्युज नेपाल
काठमाडौँ, २५ साउन
‘मोडल हन्ट नेपाल २०२६’को पुरुषतर्फ परन्तप भण्डारी र महिलातर्फ लिजा श्रेष्ठले उपाधि जितेका छन्। काठमाडौँमा आयोजित भव्य समारोहमा भण्डारी र श्रेष्ठलाई प्रतियोगिताको शीर्ष विजेता घोषणा गरिएको हो।
उपाधिसँगै दुवै विजेताले जनही ५ लाख रुपैयाँ बराबरको पुरस्कार प्राप्त गरेका छन्। साथै, आगामी डिसेम्बरमा कम्बोडियामा आयोजना हुने ‘मिस एन्ड मिस्टर सेलिब्रेटी इन्टरनेशनल’मा नेपालको प्रतिनिधित्व गर्ने अवसरसमेत उनीहरूले पाएका छन्। परन्तपले ‘बेस्ट वाक’, ‘बेस्ट फिजिक्स’ र ‘बेस्ट फिगर’को उपाधिसमेत हात पारे भने लिजाले ‘कमर्सियल मोडल’को उपाधि जितिन्।
प्रतियोगितामा पुरुषतर्फ अनुस्कृत न्यौपाने प्रथम रनरअप र सुशान्त प्रजापति द्वितीय रनरअप घोषित भए। महिलातर्फ प्रियंका ओली प्रथम रनरअप र खुसी बोहरा द्वितीय रनरअप बने।
फाइनलमा २६ महिला र १६ पुरुष गरी ४२ प्रतियोगी सहभागी थिए। विभिन्न विधातर्फ मनिष ओली र काया थापा ‘मस्ट पपुलर’, सुशील थापा मगर र काया थापा ‘मस्ट स्टाइलिस’, अनुष सक्सेना र उगेश्ना तिमल्सिना ‘बेस्ट पर्सनालिटी’ घोषित भए। त्यस्तै, अस्निका ठकुरीले ‘बेस्ट वाक’, सुशान्त प्रजापति र प्रियंका ओलीले ‘पब्लिक च्वाइस’ तथा सुशान्त प्रजापति र कृशला संगतले ‘मस्ट फोटोजेनिक’को उपाधि पाए।
सिम्रन कार्कीले ‘बेस्ट फिजिक्स’ र ‘बेस्ट फिगर’, अनुस्कृत न्यौपानेले ‘कमर्सियल मोडल’ तथा सृष्टि न्यौपानेले ‘बेस्ट कन्टेन्ट क्रिएटर’को उपाधि जितिन्।
नेक्स्ट मोडल्स नेपालले आयोजना गरेको प्रतियोगिताको यो दशौँ संस्करण हो। यस वर्ष ‘नोथिङ स्मार्ट फोन’ मुख्य प्रायोजक रहेकाले प्रतियोगिता ‘नोथिङ स्मार्ट फोन मोडल हन्ट नेपाल २०२६’ नामबाट आयोजना गरिएको थियो।
प्रतियोगीलाई व्यक्तित्व विकास, शारीरिक प्रस्तुति, र्याम्प वाक, बडी ल्याङ्ग्वेज, फोटोसुट र एक्सप्रेसनलगायतका विषयमा ग्रुमिङ प्रशिक्षण दिएर फाइनलमा प्रस्तुत गरिएको आयोजक नेक्स्ट मोडल्स नेपालकी कार्यकारी निर्देशक यतना पाण्डेले जानकारी दिइन्।
मोडलिङ क्षेत्रमा आवश्यक अन्तर्राष्ट्रिय स्तरको ज्ञान र सीप प्रदान गर्दै स्वदेश तथा विदेशमा अवसर पाउन सक्ने व्यावसायिक मोडल उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता विगत १० वर्षदेखि नियमित आयोजना हुँदै आएको आयोजकको भनाइ छ।
प्रतियोगिताले मोडलिङ क्षेत्रमा प्रवेश गर्न चाहने युवायुवतीका लागि अवसर र प्लेटफर्म सिर्जना गरिरहेको नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले बताए। कोरियोग्राफी सबिता कार्कीले गरेकी थिइन् भने मोन्टर अजय गुरुङ रहेका थिए। फेसन डिजाइनतर्फ मनिष राई, कासा, मर्स्याङ्दी, सरिता अटायर र विमिन्स प्लानेटको सहभागिता थियो। र्याम्प शो तथा विभिन्न सांगीतिक प्रस्तुतिसहित प्रतियोगिताको फाइनल सम्पन्न भएको हो।



