ब्युटी न्युज नेपाल
काठमाडौँ, २३ साउन
चर्चित चरित्र अभिनेता तथा नाट्यकर्मी पुष्कर गुरुङले आफ्नो अनुमति र इच्छाविपरीत नेपाल सरकारले नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको प्राज्ञ सभा सदस्यमा नियुक्त गरेको भन्दै असन्तुष्टि जनाएका छन्। उनले उक्त पदमा बस्न अस्वीकार गरेका छन्।
शुक्रबार संस्कृति मन्त्रालयले सार्वजनिक गरेको नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको प्राज्ञ सभा सदस्यको सूचीमा गुरुङको नाम समावेश थियो। सूची सार्वजनिक भएपछि शुक्रबार साँझदेखि आफूलाई बधाई आउन थालेपछि भने उनी छक्क परे। आफूलाई जानकारी नै नदिई प्राज्ञ सभा सदस्यमा नियुक्त गरिएको उनले बताएका छन्।
गुरुङ यसअघि नै नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको परिषद् सदस्य भइसकेका कलाकार हुन्। करिब आठ वर्षअघि परिषद् सदस्यका रूपमा नियुक्त भएका उनले चार वर्षको कार्यकाल पूरा गरेका थिए। यसअघि परिषद् सदस्य भइसकेका आफूलाई अहिले पुनः प्राज्ञ सभा सदस्यमा नियुक्त गरिएपछि आफू आश्चर्यमा परेको उनले बताएका छन्।
उनले सामाजिक सञ्जालमार्फत उक्त नियुक्ति अस्वीकार गर्दै लेखेका छन्, ‘निर्णायकहरूको गल्तीले मेरो नाम पनि १३ नम्बरमा देखें। उहाँहरूलाई अन्यथा नसोचिदिनुहुन सम्पूर्णमा हार्दिक अनुरोध गर्दछु। र, प्राज्ञ–सभा सदस्य पदमा रहन मेरो अस्वीकार रहेको जानकारीसमेत गराउन चाहन्छु।’
यसपटक संस्कृति मन्त्रालयले नेपालका तीनवटै प्रज्ञा प्रतिष्ठानका लागि प्राज्ञ सभा सदस्य तथा अन्य पदमा नियुक्तिका लागि आवेदन माग गरेको थियो। तर आवेदन दिएका व्यक्तिहरूमध्येबाट छनोट नगरी संस्कृति मन्त्री खड्ग पौडेलको अध्यक्षतामा रहेको सिफारिस समितिले आफ्ना निकट व्यक्तिहरूलाई नियुक्त गरेको आरोप लागेपछि शुक्रबारदेखि नै उक्त नियुक्तिलाई लिएर विवाद उत्पन्न भएको छ।
गुरुङले भने आफ्नो नाम प्राज्ञ सभा सदस्यको सूचीमा समावेश हुनु नै आफूलाई जानकारी नदिई गरिएको निर्णय भएको भन्दै उक्त पद स्वीकार नगर्ने स्पष्ट पारेका छन्।



