नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपतिमा कुमार र उपकुलपतिमा अविनाश नियुक्त


ब्युटी न्युज नेपाल
काठमाडौँ, २२ साउन

नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपतिमा सिन्धुलीका सौरकाल्पनिक आख्यान लेखक कुमार नगरकोटी नियुक्त भएका छन् । यस्तै उपकुलपतिमा पर्वतका साहित्यकार अविनाश श्रेष्ठ नियुक्त भएका छन् ।

नेपाल सरकार मन्त्री परिषदको बुधबार बसेको बैठकले उनको नेतृत्वमा नेपाल प्रज्ञा प्रतिष्ठानको परिषद पदाधिकारी चयन गरेको हो । मन्त्री परिषदले चार वर्षको लागि प्रतिष्ठानमा नयाँ पदाधिकारीहरु नियुक्त गरेको हो । संस्कृति मन्त्रीको अध्यक्षतमा गठित समितिले दुई साता अघि गरेको सिफारिसको आधारमा यी परिषद पदाधिकारीहरु नियुक्त भएका हुन् ।

जस अन्तर्गत नेपाल प्रज्ञा प्रतिष्ठानको सदस्य सचिवमा रोशन शेरचन र परिषद सदस्यहरुमा प्रतिसरा सायमी, कृष्णराज चौधरी, सीता सुब्बा, तिर्थबहादुर गुरुङ, रुपा कुमारी, नविन नेपाली, दीपक सापकोटा र दुर्गाबहादुर घर्ती नियुक्त भएका छन् । शुक्रबार कुलपतिसहितका पदाधिकारीहरुले आफ्नो नियुक्त पत्र बुझेका छन् । उनीहरुले सोमबारबाट आफ्नो कार्यभार सम्हाल्ने छन् ।

यसैबिच परिषद पदाधिकारीहरुमा सुदुर पश्चिमबाट एकजना सहित्यकार पनि नसमेटेको भन्दै सुदुर पश्चिमका साहित्यकारहरुले यो नियुक्तीको विरोध गरेका छन् ।