‘टुरिज्म एम्बासडर युनिभर्स इन्टरनेशनल’ मा देव जैसवाल बने ग्रान्ड विनर


ब्युटी न्युज नेपाल
काठमाडौँ, २० साउन

नेपालका बाल प्रतिनिधि देव जैसवालले मलेसियामा आयोजित अन्तर्राष्ट्रिय प्रतियोगिता ‘टुरिज्म एम्बासडर युनिभर्स इन्टरनेशनल २०२६ को बालक विधामा ‘ग्रान्ड विनर’ उपाधि जित्दै नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा गौरवान्वित बनाएका छन्।

मलेसियाको साबाह राज्यस्थित कोटा किनाबालुमा सम्पन्न प्रतियोगितामा विभिन्न देशका बाल प्रतिभाबीच प्रतिस्पर्धा भएको थियो। अन्तिम चरणमा देवले आत्मविश्वास, व्यक्तित्व, नेतृत्व क्षमता तथा नेपाली संस्कृति र पर्यटन प्रवर्द्धनप्रतिको आफ्नो प्रतिबद्धता प्रभावशाली रूपमा प्रस्तुत गर्दै निर्णायकहरूको मन जित्न सफल भएका हुन्।

प्रतियोगिताका क्रममा उनले नेपालको मौलिक संस्कृति, परम्परा, सभ्यता, राष्ट्रिय पहिचान र प्राकृतिक सम्पदालाई आकर्षक ढंगले प्रस्तुत गरेका थिए। नेपाली पहिरनमा मञ्च उक्लिएका उनले नेपालको भाषा, संस्कार तथा पर्यटनका सम्भावनाबारे समेत प्रभावशाली मन्तव्य राखेका थिए, जसले अन्तर्राष्ट्रिय सहभागी तथा निर्णायकहरूको विशेष ध्यान आकर्षित गरेको थियो।

देव प्रतियोगितामा म्याजेस्टिक ग्रुप नेपालको समन्वयमा सहभागी भएका हुन्। संस्थाले प्रतियोगिताका लागि आवश्यक तयारी, प्रशिक्षण, समन्वय तथा व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको जनाएको छ।

देवको यो सफलता नेपाली बाल प्रतिभाको क्षमता, आत्मविश्वास र अन्तर्राष्ट्रिय स्तरमा नेपालको संस्कृति तथा पर्यटन प्रवर्द्धन गर्ने अभियानका लागि प्रेरणादायी उपलब्धिका रूपमा हेरिएको छ।