ब्युटी न्युज नेपाल
काठमाडौँ, १८ साउन
काठमाडौं महानगरपालिका र चलचित्र विकास बोर्डको संयुक्त आयोजनामा सञ्चालन गरिएको ३० दिने ‘फोटोग्राफी तथा फोटो–भिडियो पत्रकारिता तालिम’ सम्पन्न भएको छ। चलचित्र विकास बोर्डमा आयोजित समापन समारोहमा ३५ जना प्रशिक्षार्थीलाई प्रमाणपत्र प्रदान गरिएको थियो।
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले नेपाली चलचित्र उद्योगको विकासका लागि दक्ष प्राविधिक जनशक्ति आवश्यक रहेको उल्लेख गर्दै यस्ता प्रयोगात्मक तालिमलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताए। चलचित्र निर्माणसँगै प्रचार–प्रसार, अभिलेखीकरण र दृश्य सञ्चारमा दक्ष जनशक्तिको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै उनले तालिमबाट सिकेको सीपलाई व्यावसायिक रूपमा प्रयोग गर्न सहभागीहरूलाई आग्रह गरे।
कार्यक्रमकी प्रमुख अतिथि तथा काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले प्रशिक्षकहरू राजभाइ सुवाल, प्रदीपराज वन्त, श्रीधर पौडेल, ओमलाल अकेला र राजन महर्जनलाई प्रशंसापत्र प्रदान गरिन्। उनले तालिम पूरा गरेका सबै प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गर्दै सीपमूलक शिक्षाले युवालाई रोजगारी र स्वरोजगारतर्फ अग्रसर गराउने बताइन्।
सोही अवसरमा नेपाली चलचित्रका पहिलो स्टिल फोटोग्राफर मञ्जु कुमार श्रेष्ठ तथा वरिष्ठ फिल्म पोस्टर डिजाइनर सुन्दर श्रेष्ठलाई जनही ३५ हजार रुपैयाँसहित विशेष सम्मान प्रदान गरिएको थियो। तालिममा फोटोग्राफी, फोटो–भिडियो पत्रकारिता, क्यामेरा सञ्चालन, फोटो सम्पादन, दृश्य कथावाचन तथा समाचार प्रस्तुति लगायतका व्यावहारिक विषयमा प्रशिक्षण दिइएको आयोजकले जनाएको छ।



