ब्युटी न्युज नेपाल
काठमाडौँ, १८ साउन
विद्यालयस्तरका छात्रीहरूको व्यक्तित्व विकास, नेतृत्व क्षमता अभिवृद्धि तथा सिर्जनशील प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजना हुँदै आएको ‘प्याब्सन मिस लिटिल आइडल’ को १५औँ संस्करण सुरु भएको छ। प्याब्सन काठमाडौं र एक्सन इन्टरटेनमेन्टको संयुक्त आयोजनामा हुने प्रतियोगिताबारे बागबजारस्थित होटल हार्दिकमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइयो।
प्रतियोगितामा कक्षा ४ देखि ८ सम्म अध्ययनरत ८ देखि १३ वर्ष उमेर समूहका छात्रीहरूले अभिभावकको अनुमति र विद्यालयको सिफारिससहित आवेदन दिन सक्नेछन्। आवेदनमध्ये ‘पहिले आउने, पहिले सहभागी हुने’ आधारमा अधिकतम ७० जना प्रतियोगी छनोट गरिने आयोजकले जनाएको छ।
प्याब्सन काठमाडौंका अध्यक्ष नवराज भट्टले बदलिँदो समयअनुसार विद्यार्थीलाई पाठ्यक्रमबाहिरका व्यवहारिक ज्ञान, आत्मविश्वास र नेतृत्व विकासका अवसर उपलब्ध गराउने उद्देश्यले प्रतियोगिता निरन्तर सञ्चालन हुँदै आएको बताए। एक्सन इन्टरटेनमेन्टका अध्यक्ष अशोकप्यासी राईले १५औँ संस्करणलाई प्रविधिमैत्री, सिर्जनशील र अझ प्रतिस्पर्धात्मक बनाइने जानकारी दिए।
कोरियोग्राफर रोजिन शाक्य र कोच एन्जल राईको नेतृत्वमा सहभागीहरूलाई तीन साताको विशेष प्रशिक्षण प्रदान गरिनेछ। साथै विभिन्न क्षेत्रका विज्ञ, पूर्वविजेता र सेलिब्रेटीसँग अन्तरक्रिया पनि गराइनेछ।
प्रतियोगिताको विजेताले ५० हजार रुपैयाँ, फस्ट रनरअपले ३० हजार र सेकेन्ड रनरअपले १५ हजार रुपैयाँसहित ट्रफी, प्रमाणपत्र र उपहार प्राप्त गर्नेछन्। प्रशिक्षण भदौ ६ गतेदेखि सुरु हुने र भदौ २७ गते ग्रान्ड फिनाले आयोजना गरिने आयोजकले जनाएको छ।



