ब्युटी न्युज नेपाल
काठमाडौँ, १७ साउन
नेपाल टेलिकम मिस नेवाः नेपाल ११४६ अन्तर्गतको ट्यालेन्ट शो सम्पन्न भएको छ। प्रतियोगिताको अन्तिम चरणअघि आयोजित यस कार्यक्रममा १७ जना प्रतिस्पर्धीले आफ्नो कला, सिर्जनशीलता र सांस्कृतिक प्रतिभा प्रस्तुत गर्दै निर्णायक तथा दर्शकमाझ प्रभाव जमाउने प्रयास गरेका छन्।
काठमाडौँमा सम्पन्न कार्यक्रममा सहभागीहरूले नेवारी गीतमा नृत्य, गायन, चित्रकला, बाँसुरी वादन, कुमारी नृत्य तथा वक्तृत्वकलालगायत विविध विधामा प्रस्तुति दिएका थिए। प्रतियोगितामा सारिका महर्जन, तिसा शाक्य, निश्ला महर्जन, हिमानी प्रधान, प्रिस्टिन अवाले, रेजिना बज्राचार्य, दुर्गा देउला, सबनम शाक्य, सोनिया महर्जन, दृष्टि महर्जन, कल्शा अवाले, मिकिशा महर्जन, जेस्सिका श्रेष्ठ, करुणा चक्रधर, शिक्षा महर्जन, अनुस्का नकर्मी र लक्की महर्जन सहभागी छन्।
नेपालिज फेसन होम तथा फाइट फर लाइफ नेपालकी अध्यक्ष हेमा मानन्धरको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रोफेसर डा. बिमला शाक्य प्रमुख अतिथि रहेकी थिइन्। कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्व तथा पूर्व विजेताहरूको विशेष उपस्थिति रहेको थियो।
ट्यालेन्ट शोको मूल्याङ्कन जीवेश्वरलाल श्रेष्ठ, अधिवक्ता लक्ष्मण महर्जन, रोहन श्रेष्ठ, अनिल स्थापित र नृत्य प्रशिक्षक गंगा महर्जनले गरेका थिए। आयोजकका अनुसार यस चरणबाट छनोट हुने मिस ट्यालेन्ट उपाधिको विजेताको घोषणा आगामी भदौ ६ गते हुने ग्रान्ड फिनालेमा गरिनेछ।
अध्यक्ष हेमा मानन्धरले मिस नेवाः प्रतियोगिता नेवारी भाषा, कला, संस्कृति र परम्पराको संरक्षण तथा नयाँ पुस्तामा यसको हस्तान्तरण गर्ने उद्देश्यका साथ निरन्तर आयोजना हुँदै आएको बताइन्।



