ब्युटी न्युज नेपाल
काठमाडौँ, १७ साउन
महिलाको व्यक्तित्व विकास, नेतृत्व क्षमता अभिवृद्धि तथा महिला सशक्तीकरणलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित ‘मिस एण्ड मिसेस नेपाल इन्टरनेशनल वर्ल्ड २०२६–सिजन २’ को उपाधि विजेता घोषणा गरिएको छ। प्रतियोगितामा ‘मिस’तर्फ बिपिशा भट्टराई र ‘मिसेस’तर्फ रोजी श्रेष्ठ विजेता बनेका हुन्।
सामरी इन्टरनेशनल इभेन्ट्स प्रालिले आयोजना गरेको प्रतियोगितामा ‘मिस’तर्फ नुमा फुङ सुब्बा फस्ट रनरअप घोषित भइन्। ‘मिसेस’तर्फ कल्पना प्रसाई (कामना) फस्ट रनरअप, सरिता राई सेकेन्ड रनरअप, गम्भीर गंगा थर्ड रनरअप तथा गीता देवी अर्याल फोर्थ रनरअप बने। प्रतियोगिताको शीर्ष प्रायोजक बिहे सेवा रहेको थियो।
विधागत पुरस्कारअन्तर्गत कल्पना राई ‘पब्लिक च्वाइस विनर’, तीर्थाकुमारी मगर ‘भ्युअर च्वाइस विनर’ तथा हिमाकुमारी राजवंशी ‘म्यानेजमेन्ट च्वाइस अवार्ड’बाट सम्मानित भए। यसै अवसरमा राधा न्यौपाने ढकाललाई ‘मिसेस एसिया इन्टरनेशनल नेपाल’ र दुर्गादेवी थापालाई ‘क्लासिक मिसेस एसिया इन्टरनेशनल नेपाल’को उपाधि प्रदान गरियो।
आयोजक संस्थाका अध्यक्ष भरत सामरीले प्रतियोगिताले महिलामा आत्मविश्वास, नेतृत्व क्षमता र सामाजिक उत्तरदायित्वको भावना विकास गर्नुका साथै नेपालको कला, संस्कृति र पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने लक्ष्य राखेको बताए। फाइनल चरणमा प्रतियोगीहरूले र्याम्प वाक, सार्वजनिक वक्तृत्वकला, सांस्कृतिक प्रस्तुति, प्रतिभा प्रदर्शन तथा व्यक्तित्व विकासका विभिन्न प्रतिस्पर्धात्मक चरण पार गर्दै उत्कृष्टता प्रदर्शन गरेका थिए।



