अटिजम पीडित पात्रमा नीताको जीवन्त अभिनय


ब्युटी न्युज नेपाल
काठमाडौँ, १६ साउन

नेपाली चलचित्र ‘पार्वती’ को टिजर सार्वजनिक भएसँगै अभिनेत्री नीता ढुङ्गानाको अभिनयले दर्शकको विशेष ध्यान तानेको छ। अटिजम भएकी युवतीको भूमिकामा उनी देखिएको टिजरले सामाजिक सञ्जालदेखि फिल्मकर्मीमाझ सकारात्मक प्रतिक्रिया बटुलिरहेको छ।

टिजरमा नीताले अटिजम भएका पात्रको भावनात्मक संसार, हाउभाउ र परिवारप्रतिको आत्मीय सम्बन्धलाई स्वाभाविक ढंगले प्रस्तुत गरेकी छन्। विशेषगरी भाइप्रतिको निस्वार्थ माया र संवेदनशील अभिव्यक्तिले दर्शकलाई भावुक बनाएको प्रतिक्रिया आइरहेको छ। चुनौतीपूर्ण पात्रलाई सहज अभिनयमार्फत जीवन्त बनाएको भन्दै उनको खुलेर प्रशंसा भइरहेको छ।

लामो समयदेखि नेपाली फिल्म क्षेत्रमा सक्रिय नीता कथा र पात्रअनुसार आफूलाई रूपान्तरण गर्न सक्ने अभिनेत्रीका रूपमा परिचित छिन्। यसअघि ‘मसान’, ‘पञ्चायत’, ‘नोटबुक’, ‘छ एकान छ’ लगायत चलचित्रमा उनले फरक–फरक चरित्र निर्वाह गर्दै अभिनय क्षमता प्रमाणित गरिसकेकी छन्।

नीताका अनुसार ‘पार्वती’ केवल मनोरञ्जनात्मक फिल्म नभई समाजमा मौन रूपमा संघर्ष गरिरहेका पात्रहरूको कथा हो। यस चलचित्रमार्फत उनी अभिनयसँगै पहिलोपटक निर्देशनमा पनि देखिँदैछिन्। गत वर्ष ‘ह्रस्वदीर्घ’बाट सफल निर्माताको परिचय बनाएकी उनले यसपटक निर्देशनको जिम्मेवारी पनि सम्हालेकी हुन्।

आगामी भदौ १२ गते प्रदर्शनमा आउने तयारीमा रहेको ‘पार्वती’ले अटिजमजस्ता संवेदनशील विषयलाई केन्द्रमा राख्दै समाजमा सकारात्मक सन्देश दिने अपेक्षा गरिएको छ। सार्वजनिक टिजरले चलचित्रप्रतिको उत्सुकता उल्लेखनीय रूपमा बढाएको छ।