ब्युटी न्युज नेपाल
काठमाडौँ, १४ साउन
कोशी र मधेश प्रदेशका विभिन्न जिल्लामा बढ्दो तनाव र शान्ति–सुरक्षाको अवस्थालाई मध्यनजर गर्दै प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले आज देशवासीका नाममा विशेष सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रभावित क्षेत्रको पछिल्लो अवस्थाबारे सुरक्षा निकायबाट जानकारी लिएपछि सम्बोधनको तयारी गरिएको हो।
सुनसरीको कप्तानगञ्जमा दुई समूहबीच भएको हिंसात्मक झडपपछि सुरु भएको तनाव क्रमशः सिराहा, धनुषा र पर्सासम्म फैलिएको छ। घटनामा हालसम्म तीन जनाको ज्यान गएको पुष्टि भएको छ भने १५ जनाभन्दा बढी घाइते भएका छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको जनाइएको छ।
प्रधानमन्त्रीका प्रेस संयोजक सुरेन्द्र बजगाईंका अनुसार यसैबीच गृहमन्त्री सुधन गुरुङ घटनास्थल सुनसरी पुगेर सुरक्षा अवस्थाको प्रत्यक्ष अनुगमन गर्ने कार्यक्रम रहेको छ। गृहमन्त्रीको स्थलगत प्रतिवेदन प्राप्त भएपछि प्रधानमन्त्रीले देशवासीलाई सम्बोधन गर्दै शान्ति, संयम र सामाजिक सद्भाव कायम राख्न आग्रह गर्नेछन्। सरकारले प्रभावित क्षेत्रमा सुरक्षा व्यवस्था थप सुदृढ बनाउने तयारीसमेत गरेको जनाएको छ।


