ब्युटी न्युज नेपाल
काठमाडौँ, १४ साउन
सिरहामा भएको झडपका क्रममा गम्भीर घाइते भएका एक जनाको मृत्यु भएको छ । झडपमा गोली लागेर गम्भीर घाइते भएका औरही गाउँपालिकाका १५ वर्षीय गणेश यादवको मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
सिरहामा पछिल्लो समय प्रदर्शन हिंसात्मक बन्दै जाँदा आगजनी र तोडफोडका घटनाले स्थानीय अवस्था थप तनावपूर्ण बनेको छ। तनावका बीच सिरहाको गोलबजारस्थित सिरहा सुपरमार्केटद्वारा सञ्चालित एबी मलमा आगजनी गरिएको छ। आगलागीबाट मलमा क्षति पुगेको प्रारम्भिक जानकारी प्राप्त भएको छ। घटनापछि नेपाल प्रहरीले सुरक्षा व्यवस्था कडा पार्दै स्थिति नियन्त्रणमा लिन प्रयास गरिरहेको जनाएको छ।
बिहीबार बिहानदेखि प्रदर्शनकारी र सुरक्षाकर्मीबीच विभिन्न स्थानमा तनाव बढेपछि प्रशासनले जिल्लाका संवेदनशील क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ। सो घटनापछि त्यहाँको सुरक्षा व्यवबस्था अत्यन्त कडा गरिएको छ ।

यता बिरगञ्जमा पनि शान्ति सुव्यबस्था कामय गर्ने प्रयास भइरहेको छ । सम्भावित सुरक्षा जोखिमलाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज क्षेत्रमा निषेधाज्ञा लागू गरेको छ। जिल्ला सुरक्षा समितिको निर्णयअनुसार बिहीबार साँझ ५ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्म निषेधाज्ञा प्रभावकारी रहने प्रशासनले जनाएको छ।
प्रशासनले वीरगञ्ज महानगरपालिकाको प्रतिमा चोक, बसपार्क बाइपास रोड, तिलावे पुल, गण्डक चोक र शंकराचार्य गेट आसपासको क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला हुन, सभा, जुलुस तथा प्रदर्शन गर्न रोक लगाएको छ। स्थानीय प्रशासनले सर्वसाधारणलाई निषेधाज्ञाको पूर्ण पालना गर्न आग्रह गर्दै शान्ति र सुरक्षा कायम राख्न सबै पक्षसँग संयम अपनाउन अपिल गरेको छ।


