ब्युटी न्युज नेपाल
काठमाडौँ, १३ साउन
प्रधानमन्त्री वालेन्द्र शाहले दोषीलाई कानुनी दायरामा ल्याइने प्रतिबद्धता व्यक्त गर्दै सुनसरीको देवानगञ्ज घटनाप्रति सरकार गम्भीर रहेको बताएका छन्। घटनामा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले पीडित परिवारलाई न्याय, क्षतिपूर्ति तथा घाइतेहरूको उपचारमा सरकारले कुनै कसर बाँकी नराख्ने स्पष्ट पारेका छन्।
प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत दिएको सन्देशमा सामान्य विवादले हिंसात्मक रूप लिनु अत्यन्त दुःखद भएको उल्लेख गर्दै नागरिकको सुरक्षाभन्दा ठूलो प्राथमिकता सरकारका लागि अर्को कुनै विषय हुन नसक्ने बताएका छन्। सुरक्षाकर्मीको गोली लागेर नागरिकको मृत्यु हुनु गम्भीर विषय भएकाले त्यसबारे स्वतन्त्र अनुसन्धान अघि बढाइएको जानकारी पनि उनले दिएका छन्।
सरकारले घटनाको सम्पूर्ण पक्षको समीक्षा गरिरहेको उल्लेख गर्दै भविष्यमा यस्ता घटना दोहोरिन नदिन सुरक्षा व्यवस्थापन, प्रशासनिक समन्वय र नीतिगत सुधारका काम तत्काल अघि बढाइने प्रधानमन्त्रीको भनाइ छ। दोषी जोसुकै भए पनि कानुनअनुसार कारबाही हुने र पीडितले न्यायको अनुभूति गर्ने वातावरण सुनिश्चित गरिने उनले बताए।
प्रधानमन्त्री शाहले सबै नागरिकलाई संयमता अपनाउन, अफवाह र उत्तेजनाबाट टाढा रहन तथा सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र आपसी विश्वास कायम राख्न आग्रह गरेका छन्। उनले शान्ति, एकता र मानवताको भावना बलियो बनाउनु नै अहिलेको सबैभन्दा ठूलो आवश्यकता भएको उल्लेख गर्दै हिंसाले कुनै समस्याको समाधान नदिने धारणा व्यक्त गरेका छन्।


