ब्युटी न्युज नेपाल
काठमाडौँ, १२ साउन
चलचित्र पार्वतीको टिजर सार्वजनिक कार्यक्रम स्थगित गरिएको छ । निर्माता निर्देशक एवम् अभिनेत्री निता ढुंगानाले हाललाई आफ्नो चलचित्रको टिजर रिलिज स्थगित गरिएको एक विज्ञप्ति मार्फत जनाएकी छिन् ।
विशेष गरी यो चलचित्रका कलाकार अशोक दर्जीले सडकमा झापड खाँदा यता उनको फिल्म पार्वतीको प्रचारमा असर परेको छ । झापड खाएको भिडियो भाइरल भएसँगै उनले प्रहरीमा उजुरी दिएका छन् ।

झापड हान्ने युवाहरुलाई प्रहरीले खोजिरहेको छ । यता अशोक दर्जीले अभिनय गरेको फिल्म पार्वतीको प्रचारका लागी टिजर सार्वजनिक गर्ने कार्यक्रम थियो , सोही कारण यो चलचित्रको टिजर सार्वजनिक कार्यक्रम स्थगित भएको जानकारी गराइएको छ । अशोकमाथि हातपात गर्नेलाई प्रहरीले तत्कालै पक्राउ गरेर कारवाही गर्न उनको माग छ । हातपात गर्नेहरु अहिले फरार छन् ।

प्रहरीमा अशोक दर्जीले दिएको निवेदन
निर्माण टिमले आज सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा लेखिएको छ , ‘हाल हाम्रो फिल्मका बाल कलाकार अशोक दर्जीसँग सम्बन्धित केही व्यक्तिगत कारणवश उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै यस संवेदनशील समयमा फिल्मको प्रचार प्रसारसम्बन्धी कुनै पनि सामग्री सार्वजनिक नगर्ने निर्णय गर्न हामी बाध्य भएका छौं।’
अशोक दर्जीले कसैको पैसा लिएर फिर्ता नगरेको भन्दै उनीमाथि कुटपिट भएको भिडियो दुई दिन अघि मार्फ सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । त्यसपछि अशोकले आफूलाई हातपात गर्ने माथि कारवाही होस भनेर प्रहरीमा उजुरी दिएका छन् ।
निता ढुंगानाले आफ्नो सामाजिक सञ्जालमा यो प्रकरणबारे यस्तो लेखेकी छिन् :
इलाका प्रहरी कार्यालय बिर्तामोडको जानकारीअनुसार अशोक भाइलाई गालीगलौज, चरित्रहत्या तथा धम्की दिने भनिएका व्यक्तिहरू हाल फरार छन् र उनीहरूको खोजीकार्य जारी रहेको छ।
मेरो बुझाइमा, गलत काम गर्नेहरू नै भाग्ने गर्छन्। सत्य सधैं सत्य नै हुन्छ। त्यसैले मलाई विश्वास छ, अशोक भाइले बोलेका कुराहरू पनि सत्य छन्।
घटना भएको केही दिनमा अशोक भाइले मलाई भन्नुभएको थियो, “दिदी, यस्तो घटना भएको छ। मलाई नराम्रो देखाउन खोजिएको छ। म आफ्नो काम गरिरहेको छु, तर मेरो काम नै रोक्न खोजिएको छ। त्यसैले मैले घटना हुनेबित्तिकै प्रहरीमा निवेदन दिएको छु।”
यति सानो उमेरमै उहाँले कस्तो मानसिक तनाव भोग्नुपरेको होला भन्ने सोच्दा मन दुःखी हुन्छ। तर घटना भएपछि प्रहरीलाई जानकारी गराउनु र कानुनी प्रक्रियामा जानु उहाँको निकै राम्रो पक्ष थियो।
त्यतिबेला मैले पनि भनेकी थिएँ, “तिमी १००% सही छौ। कसैले तिम्रो केही बिगार्न सक्दैन। ढुक्क भएर आफ्नो काम गर।”
आज पनि मेरो विश्वास उस्तै छ। अशोक भाइले बरु माग्न जानेका होलान्, तर कसैको चोरी गर्ने व्यक्ति होइनन्।
त्यो भिडियोको दृश्य हेर्दा कस्तो मनमा परेको छ भन्ने हामीलाई थाहा छ। अशोक भाइलाई कस्तो भएको होला भन्ने कुरा पनि “संगै बसेर” महसुस गरेका छौं। दुई दिनदेखि अशोकको आँसु बगिरहेको छ। यो सबै कुरा फ़ंडा लागि गरिएको हो भन्नेहरूलाई हाम्रो र अशोकको आँसुले नै गारो नपारोश ,,, हामी कुन समयबाट गुज्रिरहेका छौं भन्ने कुरा हामीलाई थाहा छ।
हाम्रो कामना एउटै छ—अशोक अझ उचाइमा पुगोस्, आकाश छोओस्। उसको सफलता अझ धेरै चुलियोस्। सत्य, मेहनत र इमानदारीको जित सधैं हुन्छ। हामी सधैं तिम्रो साथमा छौं, भाइ।

