ब्युटी न्युज नेपाल
काठमाडौँ, १४ असोज
शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘बाः एक योद्धा’ले पाँचौँ दिनमा आइपुग्दा दर्शकको साथ बढाउँदै लगेको छ। प्रदर्शनका सुरुवाती तीन दिन वर्षाका कारण अपेक्षाकृत कम दर्शक पाए पनि मंगलबारदेखि भने चलचित्रका हलमा दर्शकको चाप बढेको निर्माण तथा वितरण पक्षले जनाएको छ।
मंगलबारदेखि सुरु भएको ‘डिल डे’अन्तर्गत ५० प्रतिशत छुटको प्रभावसँगै चलचित्रका अधिकांश शोमा दर्शकको उपस्थिति बढेको बताइएको छ। मंगलबार देशभर ७९ शोमा प्रदर्शन भएको चलचित्रका थुप्रै शो हाउसफुल भएको वितरकको दाबी छ।
दर्शकको माग बढेपछि बुधबार चलचित्रको शो संख्या पनि थपिएको छ। वितरकका अनुसार देशभर ‘बाः एक योद्धा’ले १०० भन्दा बढी शो पाएको छ। दर्शकको मागअनुसार विभिन्न हलले थप शोसमेत थपिरहेका छन्। काठमाडौँ उपत्यकाका मल्टिप्लेक्सदेखि मोफसलका सिनेमा हलसम्म चलचित्रप्रति दर्शकको चासो बढेको निर्माण पक्षले जनाएको छ।
चलचित्रले दर्शकबाट भावनात्मक प्रतिक्रिया पाइरहेको छ। विशेषगरी बाबुआमाले सन्तानको भविष्यका लागि गर्ने त्याग, संघर्ष र वृद्धावस्थामा उनीहरूले भोग्नुपर्ने पीडालाई चलचित्रले प्रस्तुत गरेको भन्दै दर्शकले प्रतिक्रिया दिएका छन्। कतिपय दर्शकले चलचित्र हेर्दा आफ्नै परिवारको कथा सम्झिएको र भावुक बनेको बताएका छन्।
सन्तानले आफ्नो अधिकारका विषयमा आवाज उठाए पनि बाबुआमाप्रतिको दायित्व बिर्सन नहुने सन्देश चलचित्रले दिएको दर्शकको प्रतिक्रिया छ। चलचित्रमा आमाबाबुको जीवनभरको संघर्ष र सन्तानबाट पाउने उपेक्षालाई भावनात्मक रूपमा प्रस्तुत गरिएको छ।
प्रदर्शनको सुरुवातदेखि नै विभिन्न हलमा पुगेर दर्शकसँग साक्षात्कार गर्दै आएको कलाकार टोलीले बढ्दो दर्शक चापले आफूहरूलाई उत्साहित बनाएको जनाएको छ। कलाकारहरूले हलमै पुगेर दर्शकको प्रतिक्रिया लिइरहेका छन्।
हरि लम्सालको लेखन तथा निर्देशनमा बनेको चलचित्रको कथा नेपाली समाजमा सन्तानको भविष्यका लागि बाबुआमाले गर्ने त्याग र संघर्षमा केन्द्रित छ। चलचित्रमा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापालगायतका कलाकारको अभिनय छ। आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्मित चलचित्रका निर्माता वसन्त लम्साल हुन्। अनिल बुढाथोकी कार्यकारी निर्माता, अर्जुन पौडेल लाइन प्रोड्युसर तथा कृष्ण काफ्ले सह–निर्माताका रूपमा रहेका छन्।




