ब्युटी न्युज नेपाल
काठमाडौँ, १४ असोज
आगामी असोज ३० गते बडादशैँको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्र ‘आ बाट आमा २’को अन्तिम चरणको छायांकन हङकङमा सुरु भएको छ। चलचित्रका महत्वपूर्ण दृश्य छायांकनका लागि अभिनेता पल शाह, निर्देशक चन्द्र पन्त, अभिनेत्री रिश्ता गुरुङसहितको निर्माण तथा प्राविधिक टोली हङकङ पुगेको हो।
नेपालमा चलचित्रका अधिकांश पारिवारिक तथा भावनात्मक दृश्यको छायांकन सम्पन्न भइसकेको निर्माण पक्षले जनाएको छ। कथाको मागअनुसार प्रवासी जीवन र परदेशमा रहेका नेपालीको अवस्थालाई पर्दामा प्रस्तुत गर्न हङकङमा अन्तिम सेड्युल तय गरिएको हो।
हङकङमा हुने छायांकनको व्यवस्थापन तथा लाइन प्रोडक्सनको जिम्मेवारी खुसी इन्टरटेनमेन्टले सम्हालेको छ। हङकङका विभिन्न स्थानमा चलचित्रका मुख्य दृश्यहरू छायांकन गरिने जनाइएको छ। निर्देशक चन्द्र पन्तका अनुसार पल शाह र रिश्ता गुरुङसँग सम्बन्धित केही महत्वपूर्ण तथा भावनात्मक दृश्य हङकङमा खिचिनेछन्।
चाडपर्वका बेला गाउँमा आमाले गर्ने सन्तानको पर्खाइ र सात समुद्रपारि परदेशमा सन्तानले भोग्ने बाध्यताबीचको भावनात्मक सम्बन्धलाई चलचित्रको कथाको मुख्य आधार बनाइएको छ। हङकङको छायांकनले चलचित्रको प्रवासी परिवेशलाई थप प्रभावकारी र यथार्थपरक बनाउने निर्देशक पन्तको भनाइ छ।
केही दिनअघि सार्वजनिक चलचित्रको टिजरले तीन दिनमै ४२ लाखभन्दा बढी भ्युज प्राप्त गरेको निर्माण पक्षले जनाएको छ। यसैगरी, मंगलबार सार्वजनिक पहिलो रोमान्टिक गीत ‘अचेल किन कान्छी’ले पनि युट्युब तथा टिकटकमा चर्चा पाइरहेको छ।
आर्या इन्टरटेनमेन्टको प्रस्तुति रहेको चलचित्रमा पल शाह र रिश्ता गुरुङसँगै विपना थापा, मलिका महत, आकाश श्रेष्ठ, सबिन श्रेष्ठ, साइग्रेस पोखरेल, निकिता आचार्य, गजित विष्ट, नरेन खड्का, दिलिप ओखेडा र स्वर्गीय प्रदीप रावतको अभिनय रहेको छ।
रोशन भट्ट र चन्द्र पन्तको लेखन तथा करण सिंह कार्यकारी निर्माता रहेको चलचित्रलाई आरआर फिल्मस्ले नेपालभर वितरण गर्दैछ। हङकङको छायांकन सम्पन्न भएपछि निर्माण टोली नेपाल फर्किएर बाँकी पोस्ट–प्रोडक्सनको काममा जुट्नेछ। चलचित्र आगामी असोज ३० गते बडादशैँको अवसरमा देशभरका सिनेमाघरमा प्रदर्शन हुनेछ।



