ब्युटी न्युज नेपाल
काठमाडौँ, १३ असोज
अभिनेत्री रेखा थापा र निर्देशक सबिर श्रेष्ठको सहकार्यमा निर्माण भएको चलचित्र ‘छत्तीसको आँकडा’को प्रदर्शन मिति तय भएको छ। निर्माण पक्षका अनुसार चलचित्र आगामी मंसिर १७ गतेदेखि देशभरका सिनेमा हलमा प्रदर्शनमा आउनेछ।
अभिनेत्री निरुता सिंहको जन्मदिनको अवसर पारेर सोमबार रेखा थापाले सञ्चालन गर्दै आएको ‘बीआर क्याफे’मा चलचित्रको प्रदर्शन मिति घोषणा गरिएको हो। मिति तय भएसँगै निर्माण पक्षले प्रचारप्रसारलाई समेत तीव्रता दिने तयारी गरेको छ। चलचित्रको पहिलो गीत घटस्थापनाका दिन सार्वजनिक गरिने जनाइएको छ।
रेखा फिल्मस् र काइट्स इन्टरटेन्मेन्टको सहकार्यमा बनेको चलचित्रमा दुई महिला पात्रबीचको द्वन्द्वलाई कथाको मुख्य आधार बनाइएको छ। चलचित्रमा रेखा थापा र पूजा शर्मालाई फरक भूमिकामा प्रस्तुत गरिएको छ। यसअघि सार्वजनिक पोस्टरमा प्रहरी अधिकारीको भूमिकामा रहेकी रेखाले पूजालाई हत्कडी लगाएर नियन्त्रणमा लिएको देखाइएको थियो। पोस्टर सार्वजनिक भएपछि चलचित्रको कथावस्तुलाई लिएर दर्शकमाझ चासो बढेको थियो।
सबिर श्रेष्ठको निर्देशनमा बनेको चलचित्रमा रेखा, पूजा, महेश त्रिपाठी, पुष्प खड्का र निरुता सिंहको मुख्य भूमिका छ। रेखाको जोडीका रूपमा महेश त्रिपाठी तथा पूजाको जोडीका रूपमा पुष्प खड्का प्रस्तुत हुँदैछन्। पुष्प र पूजा पहिलोपटक जोडीका रूपमा पर्दामा देखिन लागेका हुन्।
यस्तै, रेखा र निरुताले लामो समयपछि यस चलचित्रमार्फत पुनः सहकार्य गरेका छन्। उनीहरूले यसअघि ‘दुई पल’मा सँगै अभिनय गरेका थिए। निर्देशक श्रेष्ठ र रेखाले ‘रामप्यारी’, ‘तथास्तु’, ‘काली’, ‘इशारा’ र ‘कसले चोर्यो मेरो मन’लगायत चलचित्रमा सहकार्य गरिसकेका छन्। रेखा र पूजाको सहकार्य भने ‘उपहार’पछि पुनः हुन लागेको हो। चलचित्रको नेपालभर वितरणको जिम्मेवारी आरआर फिल्म्सले लिएको छ। रोहित कट्टेल र रत्न श्रेष्ठ आरआर फिल्म्सका तर्फबाट वितरक रहेका छन्।



