मिसेस नेपाल कस्मो सहित मिसेस नेपाल वल्र्ड २०२६ को आवेदन खुला


ब्युटी न्युज नेपाल
काठमाडौँ, ६ साउन

विवाहित महिलाको व्यक्तित्व, क्षमता र आत्मविश्वास अभिवृद्धि गर्ने उद्देश्यसहित आयोजना हुँदै आएको ‘मिसेस् नेपाल वर्ल्ड’ को नयाँ संस्करण ‘मिसेस् नेपाल वर्ल्ड –२०२६’ लागि आवेदन खुला गरिएको छ । आयोजक संस्था रिबन इन्टरटेनमेन्टले आज बुधकार ललितपुरमा पत्रकार भेटघाट आयोजना गर्दै सो बारे जानकारी गराएको हो ।

पत्रकार भेटघाटका क्रममा रिबन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झाले भने,‘विवाहित महिलालाई चुला चौकाबाट बाहिर ल्याउन हामीले सन २०१४बाट महिला सम्बन्धी अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता आयोजना गर्दै आएका हौँ । हामीले यस पटक मिस नेपाल वर्ल्ड, मिस नेपाल इन्टरनेशलन, एमएस नेपाल इन्टरनेशनल र मिस नेपाल कस्मो सहित ४ वटा अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपालबाट सहभागी हुन यी प्रतियोगिताको फारम खुल्ला गरेका छौँ ।’

आवेदक महिला तथा एकल महिलाहरूले खल्ती एप वा रिबन इन्टरटेनमेन्टको वेबसाइटमार्फत भर्न आवेदन दिन सक्ने पनि निशुले जानकारी गराए । उनको अनुसार यो प्रतियोगिताको अडिसन आगामी २३ साउनमा काठमाडौँमा गरिने भएको छ । सोहीबिच विराटनगर, इटहरी, पोखरा जस्ता सहरमा पनि अडिसन गर्ने तयारी भइरहेको पनि उनले बताए ।

झाका अनुसार २१ देखि ५० वर्ष उमेर समूहका विवाहित, सम्बन्ध विच्छेद भएका तथा एकल महिलाले प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन्। उचाइ र तौलको कुनै मापदण्ड नराखिएको भन्दै उनले विदेशमा रहेका नेपाली महिलाले समेत अनलाइन अडिसनमार्फत प्रतिस्पर्धामा सहभागी हुन सक्ने जानकारी सो पत्रकार भेटघाट कार्यक्रममा गराए । अडिसनबाट छनोट भएका प्रतिस्पर्धीलाई ४५ दिने विशेष प्रशिक्षण दिएर आगामी १४ कात्तिकमा ग्रान्ड फिनालेमा उतार्ने पनि उनले जानकारी गराए ।

सो ग्रान्ड फिनाले एउटै मञ्चबाट सबैलाई उतारेर मिसेस् नेपाल वर्ल्ड, मिसेस् नेपाल इन्टरनेसनल र मिसेस् नेपाल कस्मो गरी तीन वटा मुख्य विधाको विजेता चयन गरिने छ । ‘एमएस नेपाल इन्टरनेसनल’को उपाधिमा भने एक पटक विवाह भएर विभिन्न कारणले एकल भएका महिलाहरूबाट एक जनालाई चयन गरिने छ ।

सो समारोहमा बोल्दै ‘मिसेस् नेपाल वर्ल्ड २०२५’ की विजेता रक्षा पन्तले महिलाहरूको लागि यो नेपालकै उत्कृष्ट ब्युटी पेजेन्ट भएको बताइन् । यसले आफूलाई आत्म विश्वास बढाएर धेरै कुरा सिकाएको अनुभव उनले कार्यक्रममा सुनाउँदै भनिन्,‘ यो कार्यक्रममा भाग लिनु अघि म बोल्न निकै लाज मान्थे । तर अहिले धारावाहिक रूपमा मन्तव्य दिन सक्ने आत्मविश्वास यही कार्यक्रमले बढाएको हो ।’

मिसेस् नेपाल इन्टरनेशनल २०२५ डा. सन्जु भट्टले यो प्रतियोगिताबाट यस पटक अमेरिकामा गएर नेपाललाई चिनाउने र धेरै कुरा सिक्ने अवसर पाएको बताइन् । उनले महिलाहरूलाई व्यक्तित्व विकास र आफूलाई माथि उठाउन यो प्रतियोगिता उपयुक्त भएको जिकिर गरिन् ।

समारोहलाई सम्बोधन गर्दै लायन इन्टरनेशल ३२५ एलकी डिस्ट्रिक्ट गभर्नर तारा भुसालले महिलाहरू अब भान्सा र आफ्नो कार्यालयमा मात्र सीमित भएर बस्न नहुने भनाई राखिन् । महिला शसक्तिकारणको नारासहित आफू अघि बढेको बेला यस्तै उद्देश्य बोकेको कार्यक्रम मिसेस् नेपाल वर्ल्ड भएकाले यसलाई सम्पूर्ण लायनहरुले सघाउने प्रतिबद्धता उनले जनाइन् । महिलाहरूको व्यक्तित्व विकासमा यो प्रतियोगिताले लामो समयदेखि सघाउँदै आएकोमा उनले खुसी व्यक्त गरिन् ।

समारोहमा मिसेस् नेपाल वर्ल्ड २०२६ का अफिसियल कोरियोग्राफर अश्विनी कान्त झाले कार्यक्रमको उद्देश्यबारे प्रकाश पारे । यस्तै यो पेजेन्टका कानूनी सल्लाहकार कृष्ण ढुंगाना, मिडिया सल्लाहकार विदुर गिरीले पनि कार्यक्रमको सफलताको कामना व्यक्त गरे ।